२०८१ आश्विन ७ , सोमवार

टिभी रियालिटी शो ‘महागफाडी’को घोषणा, भोलिबाट अडिसन हुने

सुनाखरी न्युज /  काठमाडौं– टेलिभिजन रियालिटी शो ‘महागफाडी’ को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रमको घोषणा गरिएको हो । टेलिभिजन रियालिटी शो महागफाडीुलाई नरेश नाथ योगीले निर्देशन गर्दैछन् । उनी सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन् ।

 

उनी भन्छन मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम सावित हुने बताउँछन् । यो कार्यक्रममा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले आफ्नो सहभागिता जनाउन सक्नेछन् । आफ्नो मातृभाषामा पनि अडिसन दिन पाइने तथा अवस्था हेरेर कुनै प्रस्तुति पनि दिन पाइने भए तापनि प्राथमिकतामा भने नेपाली भाषालाई नै राखिएको उनले बताए । यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिने छ ।

 

फिजिकल रुपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिने छ भने पहिलो वल्र्ड टुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजक संस्था ढाकाटोपी फिल्म्सले दिएको छ ।दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रुपमा माई पे रहेको छ । कुनै एक टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोको हालसम्म डिजिटल राइट्स भने बेचिएको छैन । चाँडै महागफाडी प्रसारण हुने टेलिभिजन च्यानल र डिजिटल पार्टनर सार्वजनिक गर्ने तयारी आयोजकको छ ।

 

आफ्ना ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानमार्फत आफूलाई महागफाडीको दाबेदारका रूपमा प्रस्तुत गर्ने कार्यक्रममा विजेतामध्ये प्रथम हुनेले नगद १५ लाख र सवारीसाधन, द्वितीय हुनेले नगद १० लाख र सवारीसाधन तथा तृतीय हुनेले नगद पाँच लाख र सवारीसाधन प्राप्त गर्नेछन । सोह्र हप्तासम्म चल्ने कार्यक्रम अवधिभर प्रतियोगीले कुनै भाषा, लैंगिक, समुदाय, जातजाति, धर्म सम्प्रदायलाई प्रत्यक्ष नकारात्मक असर पर्ने गरी कुनै प्रस्तुति दिन पाउने छैनन ।