२०८१ आश्विन ५ , शनिवार

स्वदेशी उत्पादन संवर्द्धन गर्ने सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्छ : सञ्चारमन्त्री शर्मा

सुनाखरी न्युज/ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली संस्कृति र स्वदेशी उत्पादनलाई संरक्षण एवं संवर्द्धन गर्ने सिर्जनात्मक कामलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।
साउन १५ खीर खाने दिनका अवसरमा मौलिक भान्साघरद्वारा आज आयोजित खीर महोत्सवमा उहाँले नेपाली संस्कृति, स्वदेशी उत्पादन, रैथाने बाली र त्यसबाट बन्ने मौलिक खानाको प्रवर्द्धनका लागि सिर्जनात्मक काम गर्ने व्यक्तिलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“पश्चिमा संस्कृति र खानपानले स्वास्थ्यमा मात्र हैन संस्कार संस्कृतिमाथि पनि धावा बोलिरहेको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, “पढ्दै कमाउँदैदेखि ‘एक पालिका, एक उत्पादन क्षेत्र’जस्ता विभिन्न कार्यक्रम अघि बढिरहेको छ । यस्ता कार्यक्रमलाई सहयोग पुग्ने कामलाई सरकारले सहजीकरण र सहकार्य गर्न तयार छ ।”
उहाँले मौलिक भान्छाघरले देशभरका रैथाने बालीको बजारीकरणसँगै मौलिक खानाको व्यवसायिकीकरणको  अवधारणालाई सातै प्रदेशमा विस्तार गर्न शुभकामनासमेत दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले आँटेको, सोचेको नीति तथा कार्यक्रममा ल्याएका विषय वस्तुलाई सहयोग पुग्ने गरेर भान्छाघरबाट सिर्जनात्मक काम भइरहेको छ । यो अवधारणा सबै स्थानीय तहमा विस्तार गर्दै लग्नूहोस् ।”
मौलिक भान्छाघरले खीर महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै चिनो, कागुनो, गहुँ, फापर, कोदोलगायत रैथाने बालीको सात प्रकारका खीर प्रस्तुत गरेको थियो ।
मन्त्री शर्माले सात सय ५३ स्थानीय तहमा जोडिन आग्रह गर्दै सिर्जनात्मक कामलाई निरन्तर अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली संस्कृति र रैथाने उत्पादनको बजारीकरणको अवधारणाबारे प्रशंसा गर्दै उहाँले भन्नुभयो, “नेपाल सरकारले आँटेको, सोचेको नीति तथा कार्यक्रममा ल्याएका विषय वस्तुलाई सहयोग पुग्ने गरेर भान्साघरबाट सिर्जनात्मक काम भइरहेको छ ।”
रासस