२०८१ आश्विन ५ , शनिवार

कोशी प्रदेश सरकारः सभामुखले राजीनामा दिई थापाले नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने

सुनाखरी न्युज/ मोरङ ।

कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन् । गौतमले राजीनामा दिए पछि गठबन्धन दलबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने गठबन्धन दलका प्रदेश सांसदको भनाइ छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा उनले राजीनामा दिन सहमत भएका हुन् । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले राजीनामा दिने बताएका छन् ।

 

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो ।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा ९३० अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएको माओवादीका प्रदेश सांसदको भनाइ छ । गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जाने नजाने अहिले नै भने निर्णय भइनसकेको उनको भनाइ थियो ।

 

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङ्ले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङ्ले सरकार गठनका लागि आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार आह्वान गरेका हुन् ।