२०८१ मंसिर ७ , शुक्रवार

आलेख : ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

jurumakot. 2

सुनाखरी न्युज / काठमाडौं । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालको लोभलाग्दो दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट । । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल बन्दै गएको छ ।

 

तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र बनेको ज्यामरुककोट बेनी नगरपालिका–२ मा पर्दछ । थापा र मल्लकालीन विरासत बोकेको ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वलेयुक्त सम्पदाहरू अहिले पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन् । समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदाहरू विकाससँग जोडिएका हुन ।

 

पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको ९खड्गभवानी कोत० परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन । सदरमुकाम बेनीबजारबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिन प्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । यहाँबाट देखिने प्राकृतिक दृश्यावलोकन र यहाँको ऐतिहासिक महिमाका कारण यहाँ पुग्ने पर्यटकको मुखबाट ‘आहा ज्यामरुककोट’ शब्द झट्ट निस्कने गर्दछ ।

 

प्राकृतिक सुन्दरता, गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि ज्यामरुककोटको आकर्षक भनेको यहाँबाट देखिने प्राकृतिक दृश्य, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुङ्गेघर नै हुन् । उत्तरतर्फ आँखै अगाडी देखिने सेताम्ये हिमाल, बेनी र बागलुङको शहरी दृश्य, रत्नेचौर, पञ्चकोट, पञ्चासे, मल्लाज, पुलाचौर, ढोल्ठान, ताकम, राँखुलगायत मुस्ताङ र पर्वतका दर्जनौं ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यावलोकन तथा यहाँका घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ । यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार पोखराबाट ज्यामरुककोट घुम्न पुग्नुभएका विकास सिग्देलले यहाँका घर र प्राकृतिक सुन्दरता देख्दा मनै फुरुङ्ग भएको बताउनुभयो । “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । बेनीबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उहाँले भन्नुभयो, “यहाँको प्राकृतिक सौन्दर्य, ज्यामरुककोटको ऐतिहासिक महत्व र स्थानीयको जनजीवन, रहनसहन, स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”

 

पछिल्लो समय ज्यामरुककोट घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीय समाजसेवी एवम् व्यापारी भीमबहादुर पौडेलले बताउनुभयो । उहाँका अनुसार वर्षाको समय भए पनि गाउँ उक्लने पर्यटकको सङ्ख्यामा कमी आएको छैन । बिदाका दिन त अझ बढी पर्यटकको भीडभाड हुने बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष कार्कीले बताउनुभयो । “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उहाँले भन्नुभयो, “पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षाको समयमा पनि पाहुनाको कमी भएको छैन ।” सदरमुकामबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको अध्यक्ष कार्कीले बताउनुभयो । बेनीबाट करिब एक घन्टाको पैदल यात्राबाट लभ्लीहिल हुँदै ज्यामरुककोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा गौश्वारामा हिउँसमेत खेल्न सकिने उहाँले बताउनुभयो ।

 

पर्यटकहरुका लागि यहाँ होटल तथा होमस्टेहरु रहेका छन् । होटल र होमस्टेमा कोदोको ढिंडो, स्थानीय जातका कुखुराको मासु, गुन्द्रुक, भट्मासको अचार, सिस्नो र मासको दाल, वर्षाको समयमा निगुरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उहाँले बताउनुभयो । यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसमअनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ । गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षाको समयमा समस्या हुने गरेको अध्यक्ष कार्कीले सुनाउनुभयो । वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ । अध्यक्ष कार्कीका अनुसार ज्यामरुककोटलाई धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्वको संगमस्थल बनाउने प्रयास गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा दुई वर्षअघि रु २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको थियो ।

 

गत वर्ष नगरपालिकाको पर्यटनतर्फबाट रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख विनियोजित बजेटबाट कोत परिसरमा दुई सय १० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटाङ्गीनी निर्माण, नाग थान र मौलो राख्ने गरिएको ज्यामरुकोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिनुयो । “यहाँका ऐतिहासिक सम्पदालाई विकाससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ, त्यस अनुरुप नै पर्यटकको आगमन बढिरहेकोले हामी खुसी छौंँ” अध्यक्ष घिमिरेले भन्नुभयो । विसं १२४६ देखि १५४५ सम्म थापाहरूले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा र तरबारलगायतका हातहतियार, प्राचीन शिला र इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा ऐतिहासिक प्रमाणस्वरूप अझै पनि आकर्षणका रूपमा रहेका छन ।

 

ऐतिहासिक ज्यामरुककोटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास आफू प्रतिबद्ध रहेको वडाध्यक्ष कार्कीको भनाइ छ । उहाँले खड्गभवानी कोतलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने पदमार्ग निर्माण गर्ने योजनासहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । पुरातात्विक र ऐतिहासिक महत्वको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका दर्जनौँ हिमाल, सदरमुकाम बेनी बजार, पञ्चकोट र दर्जनौँ ग्रामीण बस्ती देखिन्छन् । गुरुयोजनासहित धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयवासीको सक्रियता देखाउन सके ग्रामिण भेगमा आन्तरिक तथा बाह्य पर्यटक आगमनले स्थानीयलाई होमस्टे सञ्चालनमा टेवासँगै रोजगारी सिर्जना हुने प्रशस्त सम्भावनाहरू रहेका स्थानीय टीकाबहादुर कार्कीले बताउनुभयो । “ज्यामरुककोट प्राकृतिक दृश्यावलोकनका लागि अत्यन्तै उपयुक्त स्थान हुनुको साथै ऐतिहासिक र प्राकृतिक सुन्दरताले युक्त सम्पदा भएपनि विकासको सहज पहुँच नहुँदा पछि परेको थियो,” म्याग्दीको पर्यटन प्रवद्र्धनमा सक्रिय अभियन्ता राजेश शाक्यले भन्नुभयो “बेनीदेखि भकुण्डेसम्म मोटरबाटोको सुविधा र भकुण्डेदेखि खड्गभवानी कोटसम्म पुग्न पदमार्ग निर्माण भएपछि धेरै सहज भएको छ ।” शाक्यका अनुसार अब दुई÷चार वटा स्तरीय होटल एवम् रेष्टुरेण्ट निर्माण गर्न सक्ने हो भने सयौं विदेशी पर्यटकलाई यहाँबाट हिमाल, नदी, गाउँ र सूर्योदय अवलोकनका लागि ल्याउन सकिन्छ ।

 

त्यस्तै, वडा कार्यालयको पछाडिपट्टी रहेको ऐतिहासिक राजकुवा संरक्षण र व्यवस्थापन गरी पम्पिङ वा लिफ्ट प्रविधिमार्फत त्यहाँको पानी खड्ग भवानी कोत परिसरमा लगेर पौडी पोखरी बनाउने र त्यसको नजिकै स्तरीय रेष्टुरेन्ट सञ्चालन गर्न सकिने सम्भावना पनि रहेको उहाँले औंल्याउनुभयो । ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १५ वटाभन्दा बढी हिमशृङ्खलाको दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

 

यहाँ थापा र मल्ल राजाको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खुँडा, तरबारलगायतका हातहतियार, प्राचीन शिला र इट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै अस्तित्वमा रहेका अर्जुन माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक एवम् हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताउनुभयो । कोटडाँडोसम्म मोटर बाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यको बारेमा प्रचारप्रसार गर्नसक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँको भनाइ रहेको छ ।

 

त्यसैगरी ज्यामरुककोट जैविक विविधताले पनि सम्पन्न रहेको छ । जैविक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पक्षी, मह, भटमास, कालो दाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, वन ढुकुर र वन कुखुरो, तरुल, भ्याकुर र सखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । विभिन्न जातजातिले आफ्नो जातीय पहिचानका झलक देखाउने, नृत्य प्रस्तुत गर्ने र सामाजिक सद्भावलाई कायम गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने गरेको भकुण्डे युवा क्लबका सल्लाहाकार डिलबहादुर कार्कीले जानकारी दिनुभयो । रासस / ध्रुवसागर शर्मा