२०८१ कार्तिक १६ , शुक्रवार

चापचोबाट थिमि भैल प्याखँ प्रदर्शन हुने

सुनाखरी न्युज/ काठमाडौं ।
सापारु (गाईजात्रा)को भोलिपल्टबाट प्रदर्शन गरिने थिमिको भैल प्याखँ(नाच) यस वर्ष चपाचोबाट सञ्चालन गरिने भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि चार दिनसम्म विभिन्न देवीदेवताका प्याखँ प्रदर्शन गरिन्छ ।

मौलिक एवं पौराणिक महत्वको प्राचीन परम्परागत प्याखँ भाद्र कृष्ण दृतियादेखि पञ्चमीको रातिसम्म थिमि नगरको टोलटोलमा प्रदर्शन गरिने थिमि भैल प्याखँ चपाचो–२०८० व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसका लागि विविध शास्त्रीय तथा तान्त्रिक विधि पूरा गरिन्छ । “थिमिको भैलमा नाच्ने पाँच कलाकार हुन्छन् । अघिल्लो र पछिल्लो भैरव एक/एक, ज्यापुंग एक, अघिल्लो र पछिल्लो दाँगी एक/एक जना हुन्छन् भने एक जना प्याखँ कजी हुन्छन्”, उहाँले भन्नुभयो ।

यस वर्ष सरगत प्रजापति ज्यापुंग, श्यामसुन्दर प्रजापति अघिल्लो भैरव, साजन प्रजापति पछिल्लो भैरव, निरोज प्रजापति अघिल्लो दाँगी र नयन प्रजापति पछिल्लो दाँगीका रुपमा नाच्नुहुने अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार थिमि भैल प्याखँका लागि यस वर्ष सात गुरुले नाच सिकाइरहनुभएको छ ।

यसैगरी सन्तकुमार प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, मोहनकृष्ण प्रजापति, विष्णुबहादुर प्रजापति, तेजकुमार प्रजापति र तेजबहादुर प्रजापति गुरु रहनुभएको छ । वाद्ययवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँङा बजाउनेहरू तीन दर्जन रहेका छन् । साथै प्याखँका लागि कलाकारका सहयोगीसहित ५० जनाको टोली भैल प्याखँमा सहभागी हुनेछन् । उक्त प्याखँ पहिलोपटक नासननीमा प्रदर्शन गरेपछि क्रमशः चपाचो, गार्चा, ग्वगँ चिवाः, स्वंगा पुखु, पाचो, दुवाफल्चा, पोबु, भुलाँख्य, ताहाननी, दिगुटोल, लायकु, दथुटोल, बालकुमारी, हात्तीमहांकाल, कुतिचिवा, जलाननी, वाचुननी, तुलननीमा प्रदर्शन गरिन्छ ।

तान्त्रिक विधिअनुसार सञ्चालनमा आएको भैल प्याखँ सुरुमा थिमिको लायकु दरबारबाट लायकु भैलका रुपमा प्रदर्शन गरिन्थ्यो । पछि लायकुसँगको समन्वयमा स्थानीय प्रजापति समुदायले प्रदर्शन गर्न थालेको अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन समयमा लायकु भैल प्रदर्शनमा आउँदा प्रजापति वा अन्य समुदायले प्याखँ निकाल्न नपाइने भएपछि लायकु भैल सञ्चालनकसँग समन्वय गरी प्रजापति समुदायले प्याखँ निकाल्दै आएको थियो ।

“भैल प्याखँमा ज्यापुंगलाई हरिसिद्धिको प्रतिकका रुपमा लिइन्छ । अरु कलाकारसँग मुकुण्डो हुन्छ भने ज्यापुंग विना मुकुण्डो नाच्छन्”, उहाँले भन्नुभयो, “ज्यापुंगको उमेर अन्यको भन्दा कम हुन्छ । प्याखँमा भैल र दाँगी क्रोधित हुँदा शान्त पार्न ज्यापुंगले देवगणलाई कपासको बियाले हान्ने गर्दछ ।”

प्याखँमा अघिल्लो भैरवलाई स्थानीय दिगु टोलको चण्डी तथा प्रचण्ड भैल भनिन्छ । यस भैललाई अष्ट भैरवको रुपमध्ये एक मानिन्छ । दायाँ हातमा खड्ग लिई बाजाको तालमा नाच्ने गर्दछ । नाचमा यो भैल ज्यापुंग पछि दोस्रो क्रममा बस्ने गर्दछ ।

नाचमा पछिल्लो भैल अघिल्लो भैलको पछाडी बस्ने गर्छ । जसलाई क्वचा भैल भनिन्छ । यो भैललाई बटुक भैरवका रुपमा लिइन्छ । प्याखँमा अघिल्लो दाँगीलाई बालकुमारी र पछिल्लो दाँगी महालक्ष्मीको प्रतिकरुपमा लिने परम्परा छ ।

अध्यक्ष प्रजापतिले भन्नुभयो, “किंवदन्तीअनुसार तत्कालीन समयमा थिमि क्षेत्रका जनतालाई भूतप्रेतले दिउँसै पनि धेरै दुःख दिन थालेपछि किसान खेतीपाती गर्न जान डराउन थालेपछि राजाले तान्त्रिक विधिअनुसार भैरवनाथलाई जगाएर टोलटोलमा क्रोधित मुद्रामा नचाएर भुतप्रेत भगाउन पहल गरेपछि समस्या समाधान भएकाले प्रत्येक वर्ष भैल प्याखँ सञ्चालन गरिदैँ आएको विश्वास छ ।”

भैल प्याखँ सञ्चालनका लागि स्थानीय सहकारी, सङ्घसंस्था, समाजसेवी, व्यवसायी, सर्वसाधारण तथा थिमि नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।

रासस