२०८१ पुष २४ , बुधवार

बुटवल र तिलोत्तमाका पशुलाई लम्पी स्किन विरुद्धको खोप

lampi khop
सुनाखरी न्युज/ काठमाडौं । रुपन्देहीका बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । बुटवल उपमहानगरपालिका छ सय पशुमा खोप लगाइएको पशुपक्षी विकास शाखाका उपनिर्देशक झवीन्द्र बञ्जाडेले जानकारी दिनुभयो । वडा नं १६, १८ र १९ का गाईलाई खोप लगाइएको र बाँकी गाई र भैँसीलाई लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
बुटवलमा करिब छ हजार सात सय पशु रहेको र सबैलाई नै खोप लगाउने गरी तयारी गरेको र खोप आपूर्ति भइरहेको उहाँले बताउनुभयो । भैँसीमा भन्दा गाईमा बढी सङ्क्रमण देखिएकाले सतर्कता अपनाउनुपर्ने उपनिर्देशक बञ्जाडेले बताउनुभयो । अहिलेको मौसममा यो रोगको भाइरस बोक्ने भेक्टर भनिने लामखुट्टे, झिँगा, किर्ना, उपियाँ, जुम्राको धेरै उत्पादन हुने तिनले धेरै सार्ने सम्भावना रहने भएकाले छिटो फैलिनसक्ने उहाँको भनाइ छ ।
यस्तै तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने रोग लम्पी स्किन विरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । तिलोत्तमा–२ तपाह लाइनमा रहेकी कृषक ईश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरेको हो ।
सो अवसरमा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले पशुमा लाग्ने रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले कृषकलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख जगेश्वरदेवी चौधरीले रोग तथा महामारीबाट हुने क्षति न्यूनीकरणका लागि नगरका कृषकलाई अनिवार्य पशु बीमा कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।
नगरपालिकाको पशु शाखाकी डा उषा देवकोटाका अनुसार विशेषगरी गाई/गोरुमा लम्पी स्किनको सङ्क्रमण बढी देखिएको छ । तिलोत्तमामा रहेका १० देखि १२ प्रतिशत गाईलाई लम्पी स्किनको सङ्क्रमण रहेको छ । नगरमा करिब पाँच हजार दुई सय गाई/गोरु रहेका छन् । हालसम्म ८० देखि ९० गाई/गोरु लम्पी स्किनका कारण मृत्यु भएको देवकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा कृषकका गोठमा रहेका गाई/गोरुलाई खोप लगाइने छ भने नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि सञ्चालन गरेको गौशालामा समेत खोप अभियान सञ्चालन गरिने छ । रासस