२०८१ आश्विन ५ , शनिवार

कांग्रेसलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्छ : नेता सिंह

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज यहाँ आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उहाँले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो ।

“देशको राजनीतिक अवस्था पहिलेको जस्तो छैन । समय र परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई अफ्ठ्यारो पर्न सक्छ”, नेता सिंहले भन्नुभयो, “ठूलो पार्टी र इतिहासको मात्र कुरा गर्नुभन्दा आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ ।” पार्टीले गरेका राम्रा कामलाई प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्री सिंहले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने भन्दै पार्टीभित्र मदभेद हुनु स्वभाविक भए पनि एकअर्कालाई दोष लगाएर कोही बलियो हुन नसक्ने बताउनुभयो । कांग्रेस कमजोर हुँदा व्यक्ति बलियो हुन नसक्ने उहाँको भनाइ थियो । नेता सिंहले आबका दिनमा पार्टीलाई विधिसम्मत् ढङ्गले अगाडि बढाएर आगामी निर्वाचनमा थप बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक पर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय समितिले गरेका निर्णय तल्लो तहका कार्यकर्ताले पालना गरेर अगाडि बढ्नुपर्ने भन्दै जनताको सेवामा लाग्न सबै कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
रासस