२०८१ आश्विन ५ , शनिवार

राष्ट्रियसभा बैठक स्थगित

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिनुभएको थियो । बैठकमा गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको बताउनुभयो । उहाँले मुलुकमा डेङ्गुको प्रकोप फैलिएको, लम्पी स्कीन रोगका कारण पशु मरिरहेका र बाढीपहिरोको समस्याले जनजीवन प्रभावित भएकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

सांसद भगवती न्यौपानेले देशको रक्षा र सुशासन कायम गर्न बाध्यताले सदन अवरोध गर्नुपरेको उल्लेख गर्दै नेपाललाई तस्कारीको थलो बनाउन नहुने बताउनुभयो । सरकार जनताप्रति संवेदनशील भएर सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाएर छानबिनको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

सांसद जितेन्द्रनारायण देवले लामो समयदेखि संसद् अवरुद्ध गर्नु समस्याको समाधान नभएको उल्लेख गर्दै जनताले चाहेको सुशासन, भ्रष्टाचार न्यूनीकरण र विकास चाहना पूरा गर्नुपर्नेमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले बजेट पास गरेपछि बनाउनुपर्ने कानुन बनाउनुपर्ने अवस्थामा सदन अवरुद्ध हुँदा आमनेपालीले खुसी नभएको उल्लेख गर्दै बाढी पीडितलाई राहत, क्षतिपूर्ति दिन आग्रह गर्नुभयो ।

सांसद मोहम्मद खालिदले नेपाली जनता राजनीतिक दलका कारण निराश उत्पन्न भइरहेको हुँदा सदन अवरुद्ध गर्न नहुनेमा जोड दिनुभयो । सांसद तुलप्रसाद विश्वकर्माले मुलुकका अगाडि जनताका जनजीविकाको सवाल, बाढीपहिरोका कारण जनजीवन कष्टकार बन्दै गएको र त्यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद डा विमला राई पौडेलले मन्त्रालयको नेतृत्वमा शङ्का उत्पन्न भएको हुनाले त्यही निकायले गरेको अनुसन्धान सत्यतथ्य होला त भन्ने प्रश्न भएकाले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको स्पष्ट पार्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते १ बजे बस्नेछ ।
रासस