२०८१ आश्विन ७ , सोमवार

‘गाईजात्रा’ को तयारीमा कलाकार

gaijatra

सुनाखरी न्युज/ काठमाडौं ।
‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन् । सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन् । यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ । यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत्साह घटेको पाइन्छ ।

कुनै समय काठमाडौँमा दुईदेखि तीन समूहसम्मले गर्ने ‘गाईजात्रा’ प्रहसन अहिले एक ठाउँमा मुस्किलले हुन्छ । वर्षभरिका राजनीतिक, सामाजिकलगायतका विकृतिप्रति खुलेर व्यङ्ग्य प्रहार गर्ने पर्वलाई भौतिकसँगै डिजिटलरूपमा मनाउने तयारीमा कलाकार जुटेका छन् । हाँस्य कलाकार जीतु नेपाल ‘कमेडी टुर’सँगै डिजिटलरूपमा समेत प्रस्तुतिको तयारी गरिरहनुभएको छ ।

उहाँले भन्नुभयो, “डिजिटलरूपमा एक साताको प्रस्तुति तयार गर्दैछु, यसबाहेक कमेडी टुर गर्दैछु, जनप्रतिनिधिले जनताको गुमाइरहेको विश्वास र दायित्व भुल्नुभएको विषयमा व्यङ्ग्य गर्दैछु ।” कोरोनाका कारण भएको बन्दाबन्दीपछि भौतिकरूपले नभइरहेको ‘गाईजात्रा’ यसपटक कमलादीस्थित प्रज्ञा भवनमा हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो समूहसँग गर्दै हुनुहुन्छ । उहाँले पहिलो चरणमा पूर्वी नेपाल, दोस्रो चरणमा काठमाडौँ र तेस्रो चरणमा पश्चिम नेपालमा आफ्नो समूहको प्रहसन प्रस्तुत हुने जानकारी दिनुभयो ।

यस्तै हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, किरण केसी, राजाराम पौडेल, दीपकराज गिरी, केदार घिमिरेलगायत कार्यक्रमको तयारीमा हुनुहुन्न । विशेषतः ठूलो पर्दामा काम गर्न थालेपछि हाँस्य कलाकार गिरीलगायतको समूहले कार्यक्रम गर्नुभएको छैन । स्वास्थ्य अवस्थाका कारण ‘मह जोडी’ले पनि कार्यक्रम नगर्नुभएको लामो समय भइसकेको छ । यद्यपि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला भने ‘रेडियो अडियो’मार्फत ‘गाईजात्रा’को प्रस्तुति दिने तयारीमा हुनुहुन्छ ।

विसं २०६१ देखि निरन्तर क्यासेट, सिडी हुँदै युट्युबमा आफ्नो प्रहसन तयार गरिरहनुभएका हाँस्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘लुछाचुँडी’ नामक प्रहसन सार्वजनिक गरिसक्नुभएको छ । “गाईजात्राकै आसपासमा मोफसल टुर गर्दैछौँ, काठमाडौँमात्र केन्द्रित नभई नेपालभर गाईजात्राको रौनक बढाउने उदेश्यले टुर गर्दैछौँ”, हाँस्यकलाकार रिजालले भन्नुभयो ।
रासस