२०८१ कार्तिक १९ , सोमवार

यो बर्ष हिउँदमा पनि रासायनिक मलको अभाव नहुने

Bhusal

सुनाखरी न्युज/ काठमाडौं ।
विगतमा धान र हिउँदे खेती लगाउने वेलामा रासायनिक मलको चरम अभाव झेल्न बाध्य भएका किसानहरुले यो बर्ष भने धानका लागि रासायनिक मलको अभाव झेल्न परेन । सरकारले समयमा नै मल आयातको भरपर्दो ब्यवस्था गरेको हुनाले कृषकले यो बर्ष राहत महशुस गर्न पाएका हुन् ।

कृषि मन्त्री बेदुराम भुसालका अनुसार यो बर्ष हिउँदमा पनि रासायनिक मलको अभाव हुन दिइने छैन । यसकालागि मन्त्रालयले अहिले नै ब्यवस्थापन कार्य शुरु गरिसकेको उनले बताए ।

विगतका वर्षहरुमासमयमा आवश्यक मलको उपलब्धता नहुँदा हाहाकार हुने अवस्था थियो तर यो वर्ष त्यस्तै अभाव नहुने मन्त्री भुसालले दाबी गरे । यसअघि प्रतिनिधि सभाको बैठकमा पनि मन्त्री भुषालले आर्थिक वर्ष २०८०–०८१ को बजेटमा कृषि मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मल अभाव नहुने दावी गरेका थिए ।

मन्त्री भुसालका अनुसार चालू आर्थिक वर्षको लक्ष्य अनुसार कूल ४ लाख ७८ हजार ५ सय मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ । त्यसै अनुसार क्रमिकरुपमा त्यसको आयात गरिएको मन्त्री भुसालले जानकारी दिए ।
त्यस्तै, मन्त्री भुसालले चालु आर्थिक वर्षमा आवश्यक मलको व्यवस्था गर्नलाई ३० अर्ब रकम सुनिश्चित गरिएको पनि बताए । ‘विगतमा जस्तै बजेटको सुनिश्चितता नभएर समयमा मलल्याउन नसक्ने अवस्था नहोस भनेर चालु आर्थिक वर्षका लागि ३० अर्ब रकम शुनिश्चित गरिएको छ,’ मन्त्री भुसालले भने ।

हाल देशभरका साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीका डिपोहरुमा पर्याप्त मल मौज्दात रहेको उनले बताए ।
‘यस वर्षको धान र हिउँदे वालीलाई रासायनिक मलको अभाव नहुने उनका भनाई छ । चालु वर्षमा कुनै पनि किसिमले मलको अभाव नहसो भनेर ३० अर्ब रकम सुनिश्चित गरिएको र रासायनिक मलको खरिद प्रक्रियालाई छिटो, छरितो बनाउने विषयमा मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको समन्वयमा सार्वजनिक खरिद ऐन संशोधन गर्न प्रस्ताव गरेको समेत उनले बताए ।
यसै बिषयमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका एक सचिवले सरकारले मल अभाव हुन नदिन पुर्व तयारी गर्न समयमा नै गृहकार्य गरेकोले विगतमा जसरी यो बर्ष यो खेती लगाउने समयमा मलको अभाव नभएको बताए । आगामी हिउँदमा समेत समस्या आउन नदिन सम्वन्धित निकायले आवश्यक प्रकृया अगाडि बढाइसकेको उनको भनाई छ ।

विगतमा समयमा नै ध्यान नदिँदा धान र हिउँदे वाली लगाउने समयमा वारम्वार रासायनिक मल अभाव हुने गरेको थियो । सोही समस्या दोहोरिन नदिन यसपटक प्रधानमन्त्रीकै चासोमा समयमा नै वैकल्पिक ब्यवस्था गरिएको थियो । जसका कारण यसपटक बजारमा रासायनिक मलको अभाव हुन पाएन ।