सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले भारतीय बजारबाट गत आर्थिक वर्षमा बिजुली खरिद–बिक्रीमा प्रतियुनिट औसत २ रुपैयाँ ८८ पैसा घाटा बेहोरेको छ । प्राधिकरणले भारतीय बजारबाट औसतमा प्रतियुनिट १० रुपैयाँ ६२ पैसामा बिजुली किनेको छ भने औसत ७ रुपैयाँ ७४ पैसामा उसैलाई बेचेको छ । आर्थिक वर्ष ०७९-८० मा प्राधिकरणले भारतबाट १९ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बिजुली किनेको र १० अर्ब ४२ करोड रुपैयाँ बराबरको बिक्री गरेको छ ।
गत वर्ष बिजुली बेचेर २० अर्ब रुपैयाँ कमाइ गर्ने लक्ष्य राखेको प्राधिकरणले समयमै वर्षात् नभएका कारण बिजुली निर्यात गर्न नपाएपछि त्यसको प्रत्यक्ष असर बिजुली आयातमा देखिएको हो । गत वर्ष प्राधिकरणले १९ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ अर्ब ८३ करोड युनिट बिजुली भारतबाट किनेको छ । १० अर्ब ४२ करोड बराबरको १ अर्ब ३४ करोड युनिट बिजुली भारतमा बिक्री गरेको छ । विद्युत् खरिदबिक्रीमा प्राधिकरणले करिब ९ अर्ब ४ करोडको घाटा बेहोरेको छ ।
सबैभन्दा बढी वैशाख महिनामा बिजुली आयात भएको प्राधिकरणको तथ्यांक छ । गत आर्थिक वर्षको वैशाखमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड २१ लाख रुपैयाँ बराबरको बिजुली आयात भएको छ । सबैभन्दा धेरै निर्यात गत आर्थिक वर्षको भदौ महिनामा छ । गत भदौमा २ अर्ब ५४ करोड ६५ लाख बराबरको बिजुली भारतमा बिक्री गरेको छ ।
प्राधिकरणले गत आर्थिक वर्षको साउनमा २८ करोड ३४ लाख, भदौमा २३ करोड ६१ लाख, असोजमा ७ करोड ८१ लाख, कात्तिकमा ६३ लाख र मंसिरमा १९ करोड ७३ लाखको बिजुली भारतीय बजारबाट किनेको छ । पुसमा १ अर्ब ८८ करोड ८४ लाख, माघमा ३ अर्ब ४५ करोड ८७ लाख, फागुनमा ३ अर्ब १ करोड ९९ लाख, चैत महिनामा ३ अर्ब ५६ करोड, वैशाखमा ४ अर्ब २३ करोड २१ लाख, जेठमा १ अर्ब ९५ करोड ३० लाख र असारमा ५५ करोड ५६ लाखको बिजुली भारतीय बजारबाट किनेको हो ।
गत आर्थिक वर्षमा भारतीय बजारमा १० अर्ब ४२ करोड बिजुली बेचेको प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ३० लाख, भदौमा २ अर्ब ५४ करोड ६५ लाख, असोजमा १ अर्ब ७१ करोड १२ लाख, कात्तिकमा १ अर्ब ४३ करोड ५५ लाख, मंसिरमा ८१ करोड ३१ लाख र पुसमा ६८ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । सुक्खायामले स्वदेशमै माग उच्च भएपछि माघ र फागुनमा भने प्राधिकरणको बिजुली बिक्री शून्य छ । चैतमा ९ लाख ८० हजार, वैशाखमा १ लाख ८० हजार, जेठमा २० करोड ८९ लाख र असारमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ बराबरको बिजली भारतीय बजारमा बिक्री गरेको छ ।
गत वर्ष प्राधिकरणले बिजुली बिक्री गरेर २० अर्ब रुपैयाँ आम्दानीको प्रक्षेपण राखेको थियो । तर, आयात र यसको प्रतियुनिट दर उच्च हुँदा यसले प्राधिकरणको नाफामै असर गरेको छ । गत वर्ष १३ अर्ब ३७ करोड खुद नाफा कमाएको प्राधिकरणले यस वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोडमात्रै नाफा गरेको प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १ अर्ब ४ करोड नाफामा कमी आएको छ ।
‘आर्थिक वर्ष ०७७र७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेको नाफा ०७८र७९ मा बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष ०७९र८० को अपरिष्कृत वित्तीय विवरणअनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ छ,’ उनले भने, ‘गत आर्थिक वर्षमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा ह्रास आयो । यसले आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित बनेको हो ।’
प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेकामा अहिले बढेर करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको र सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको घिसिङले जनाए । सुक्खायामले बिजुली बिक्रीमा कमी आएपछि प्राधिकरणको अन्य सूचक भने सुधार भएको छ । आर्थिक वर्ष ०७७र७८ मा १७।३८ प्रतिशत रहेको विद्युत् चुहावट ३।९२ प्रतिशतले घटेर हाल १३।४६ प्रतिशत पुगेको छ । वितरणतर्फको विद्युत् चुहावट ९ दशमलव ७६ प्रतिशतमा सीमित गरिएको प्राधिकरणको दाबी छ ।
राष्ट्रिय प्रसारण लाइनले ९५ प्रतिशत जनसंख्यालाई समेटिएको प्राधिकरणले जनाएको छ । राष्ट्रिय ग्रिडबाट ९५।३ र वैकल्पिक माध्यमबाट ३ प्रतिशत जनसंख्या गरी कुल ९८।३ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको प्राधिकरणको दाबी छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ग्राहक संख्या ५६ लाख ४० हजार पुगेको छ । यस्तै बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरिएको र कुशाह–कटैया दोस्रो सर्किट १३२ केभी परवानीपुर–रक्सौल दोस्रो सर्किट १३२ केभी र मैनहिया–सम्पतिया १३२ केभी डबल सर्किट १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको जनाएको छ ।
सुक्खायाममा भारतीय बिजुली आयात गरी स्वदेशी माग धान्नुपरेको र यसले विद्युत् प्राधिकरणको नाफामा कमी आएको भन्दै ठूला र जलाशययुक्त आयोजना निर्माणमा प्राधिकरणले जोड दिने घिसिङ बताउँछन् । १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने, १०६१ मेगावाटको माथिल्लो अरुण अर्ध जलाशययुक्त आयोजना विश्व बैंकको नेतृत्व र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एसियाली विकास बैंकको नेतृत्वमा ऋण लगानी गर्ने गरी अगाडि बढाइएको घिसिङले जनाए ।
२१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौं र ६० मेगावाटको मोदी जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतासाथ अघि बढाइएको छ । ४९० मेगावाटको अरुण–४ जलविद्युत् आयोजना भारतको सतलज जलविद्युत् निगमसँग र ६३८ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने तयारी भएको घिसिङको भनाइ छ ।
कान्तिपुरवाट