२०८१ आश्विन ६ , आइतवार

मौसम पूर्वानुमान यथार्थपरक बनाउनुपर्छ : मन्त्री बस्नेत

shakti basnet

सुनाखरी न्युज/ काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी सरकारले काम अगाडि बढाउने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागको कार्यालयको आज अनुगमन गर्दै उहाँले चालु आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभयो ।

मन्त्री बस्नेतले विगतको मौसम पूर्वानुमानको अनुभवलाई मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्नुभयो । मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउन सरकारले ध्यान दिने उहाँको भनाइ थियो । उहाँले पूर्वसूचना प्रणालीलाई जनमानसमा अझ व्यापक गर्नका लागि नीतिगत, संरचनागत तथा प्राविधिक क्षेत्रमा सरकारले काम गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिनपनि आग्रह गर्नुभयो ।
रासस