सुनाखरी न्युज/ काठमाडौं ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ ।
६० किलो सुन तस्करी प्रकरणबारे छानबिन गरिरहेको ब्यूरोले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सुनबारे कुनै सूचना भए ब्यूरोको इमेल ठेगाना cib@nepalpolice.gov.np मा पठाउन वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न भनेको छ ।
सुन तस्करीबारे आफूहरुसँग सूचना रहेको र आवश्यक परे दिने भन्दै सांसद् रवि लामिछाने लगायतले सार्वजनिक रुपमा बताइरहेका बेला सीआईबीले कुनै सूचना भए सम्प्रेषण गरिदिन अनुरोध गरेको हो ।
‘एक महिना अगाडि भन्सार छली ल्याइएको सुनको सुक्ष्म रुपमा ब्यूरोले अनुसन्धान गरिरहेको व्यहोरा सर्वविदितै छ’, सीआईबीका सूचना अधिकारी नवराज अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसभन्दा अगाडि विभिन्न मितिमा भएका सुन तस्करीका सम्बन्धमा समेत ब्यूरोबाट अनुसन्धान भइरहेको छ ।’