२०८१ पुष २६ , शुक्रवार

टी-२० सिरिजमा मलेसियासँग हारे पनि नेपालले फाइनल खेल्ने

सुनाखरी न्युज/ काठमाडौं ।
चार देश सम्मिलित टी-२० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको छ। पराजय भोगे पनि नेपाल फाइनलमा पुग्न सफल भयो।

दुई दुई खेलमा जित निकालेका नेपाल, हङकङ र मलेसियाको समान ४-४ अंक हुँदा रनरेटमा अघि रहेका नेपाल र हङकङ फाइनलमा पुगे। फाइनल शनिबार हुनेछ। नेपाललाई शुक्रबार घरेलु टिम मलेसियाले डिएल मेथडमा ६ विकेटले पराजित गर्‍यो।

वर्षाले प्रभावित खेलमा १८ ओभरमा ८५ रनको लक्ष्य मलेसियाले ४ विकेट गुमाएर १६।२ ‌ओभरमा पूरा गर्यो। मलेसियाका लागि अइना हसिमले नटआउट ३७ रन तथा इजाती इम्माइलले २१ रनको योगदान दिए।

बलिङमा नेपालकी पूरा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ८३ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३ रन, इन्दू बर्माले २० रन र काजल श्रेष्ठले १८ रनको योगदान गरे।

बलिङमा मलेसियाकी अइना हसिम, महिराह इजाती इम्माइल र नुर समादले २-२ विकेट लिए।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो।

सिरिजपछि नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट खेल्नेछ।