२०८१ मंसिर ९ , आइतवार

गाउँ फर्किएर व्यावसायिक कृषिमा नेपाल

farm

सुनाखरी न्युज/ काठमाडौं ।
बसाइँसराइँ गरिसकेको अवस्थामा फेरि जिल्लामाकै कृषि कर्मका लागि फर्कनुभएका शम्भुप्रसाद नेपाल अहिले व्यवसायिक रुपमा सफल किसानका रुपमा परिचित हुनुभएको छ ।

विसं २०४७ सालमा यहाँबाट विराटनगर बसाइँसराइँ गर्नुभएका नेपालले गाउँमै केही गर्ने सोच बनाएर २०७० सालमा पुनः भोजपुर नै फर्किनुभएको थियो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले आफू कृषि कर्ममा तल्लीन हुनुहुन्छ । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फ्रुटको खेती गर्दै आउनुभएको छ । ती खेतीबाट उहाँले वार्षिक लाखौंँ रुपैयाँ आम्दानी पनि गरिरहनुभएको बताउनुभयो ।

कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको बिस्तारमा लागेको उहाँको भनाइ छ । उहाँले लगाएको एक बोट कागतीको बोटमा एक हजार गोटासम्म कागती उत्पादन फल्ने गरेको छ । कागतीसहित किसान नेपालले ड्रागन फ्रुटको खेतीसमेत गर्दे आउनुभएको छ । उहाँले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढदै गएको छ ।

धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको किसान नेपालको भनाइ छ । करिब ४३ रोपनी जग्गामा किसान नेपालले अहिले कृषि कर्म गर्र्दै आइरहनुभएको छ । करिब एक हजार बोट कागतीको फल समेत दिन थालिसकेका उहाँले बताउनुभयो ।

“बजारमा कागतीको माग राम्रो छ यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबको दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ”, उहाँले भन्नुभयो । कागतीसँगै करिब ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आउनुभएको छ । किसान नेपालले वार्षिक रु १५ लाख भन्दाबढी आम्दानी गर्दै आउनुभएको जानकारी दिनुभयो ।

बसाइँसराइपछि गाउँमा फर्किएर व्यवसाय सुरु गर्दा धैरेले विश्वास नगरेको भए पनि उहाँको प्रेरणाले अन्य किसानमा पनि ड्रागन खेतीप्रति उत्साह बढेको जिल्लाको रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताउनुभयो ।

दाहालले भन्नुभयो, “यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।”

लगाएको बालीसमेत बाँदरका कारण भित्र्याउन समस्या भइरहेको अवस्थामा अहिले किसानले त्यसको विकल्पका रुपमा टिमुर, कागती, ड्रागन जस्ता बाली लगाउन सुरु गरेका छन् । खेतीयोग्य जग्गामा बाँदरले दुःख नदिने प्रजातिका फलफूल खेती गरेर मनग्गे आम्दानी पनि लिने अवस्था बनेको उहाँको भनाइ छ ।

कागती र ड्रागन खेतीसँगै दूध सङ्कलन केन्द्रको विस्तार गर्ने अभियानमा पनि आफू लागेको किसान नेपालले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरी बजारमा दूध आपूर्ति गर्ने उहाँको योजना छ ।

“यहाँका किसानले उत्पादन गर्ने दूधलाई सहर पठाउने सोच राखेको छु, यसका लागि टेम्केमैयुम गाउँपालिका ,भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा सङ्कलन केन्द्र राखेर यसबाट दैनिक सङ्कलन भएको दूध सहर पठाउने योजना बनाएको छु”, नेपालले भन्नुभयो । गाउँमा खेर गइरहेको दूध बजारमा जाँदा मासिक रु २० लाख बढी जिल्लामा भित्रिने अनुमान उहाँको छ ।
रासस