२०८१ पुष २६ , शुक्रवार

सुन तस्करी प्रकरण: एआईजी बज्राचार्यको नेतृत्वमा ६० किलो सुनबारे अनुसन्धान गर्न समिति गठन

kiran-bajracharya-5.12-(2080)_xI

सुनाखरी न्युज/ काठमाडौँ ।

तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो समिति गठन गरेका हुन् । बज्राचार्य सिआईबीकी निर्देशक हुन् ।

‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

समितिमा विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सदस्य छन् । धनकुटामा कार्यरत प्रहरी उपरीक्षक कोइरालालाई सङ्गठित अपराध अनुसन्धानमा जानकारको रूपमा अनुसन्धान गर्न बोलाइएको हो ।

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन सङ्गठित तरिकाले तस्करी भएको भन्दै राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो । ब्युरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदाम सहित १० ठाउँमा छापा मारिएको अनुसन्धान संलग्न एक जना अधिकृतले बताए ।