२०८१ पुष २७ , शनिवार

नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने

nepal-vs-pakistan (2)

सुनाखरी न्युज/ काठमाडौं । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो ।

नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने बताए । टसमा बोल्दै नेपालका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानको विकेट समान नै रहेको बताउँदै आजको खेलका लागि आफू उत्साहित रहेको जिकिर गरे ।

 

एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् । एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ ।

नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ । यसपटक एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको छ । यसका अतिरिक्त पाकिस्तानले मुल्तानस्थित घरेलु मैदानमा प्रतियोगिता खेल्ने अवसर पाएको छ भने नेपालका लागि रंगशालाको चरित्र पनि नौलो हुनेछ ।