२०८१ पुष २५ , बिहिवार

अर्ग्यानिक खेतीमा युवाको आकर्षण

farm

सुनाखरी न्युज/ काठमाडौं ।
म्याग्दीमा पछिल्ला दुई वर्षयता कृषि क्षेत्रमा युवाहरुको संलग्नता उत्साहाजनक रुपमा बढेको छ । कृषिमा युवाहरुको प्रवेशसँगै ग्रामीण क्षेत्रका खेतबारी र पाखो जमिनमा समेत कृषि प्रविधिको प्रयोग हुन थालेपछि यहाँका किसानहरु अर्ग्यानिक खेती विस्तारमा जुटेका छन् ।

धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा जिल्लाको कृषकहरुले आग्र्यानिक खेती प्रणाली सुरु गरेका हुन् । विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि यहाँ कृषिले व्यावसायिक रुप लिनाका साथै कृषिमा प्रविधिको प्रयोग र आग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो ।

विगत दुई वर्षयता जिल्लामा आग्र्यानिक खेती सुरु भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताहरुले बताएका छन् । तीन वर्षअघि सम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ताहरु अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन् ।

“अहिले सदरमुकाम बेनीका प्रायः सबै घरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ”, बेनीबजारका व्यवसायी राधिका केसीले भन्नुभयो, “ग्राहकहरु स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट आग्र्यानिक तरकारी बजारमा झर्न थालेपछि आयातित तरकारीको माग घटेको छ ।”

त्यसैगरी कृषकले पनि बजारमा आग्र्यानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छोडेका छन् । करिब ४० वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।

घर नजिकैको १४ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले दुई वर्षअघि सम्म कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन । “म विगत ४० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,” कार्कीले भन्नुभयो, “तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन ।”

युवाहरु नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयवासीको भनाइ छ । ‘लाहुरेहरुको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।

खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसानलगायतका जिल्लाका २४ भन्दा बढी कृषकले पछिल्लो समय प्राङ्गारिक तरकारी खेतीको सुरुआत गरेका छन् ।

विगतमा तरकारी बिक्रीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०८० को साउनसम्म तरकारी बिक्री गरेर रु ४० लाखभन्दा बढी आम्दानी भएको बताउनुभयो । त्यसैगरी डडुवाका मोहन भण्डारी पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको जानकारी दिनुभयो ।

कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको खबराका कृषक शोभित सापकोटाले बताउनुभयो । अग्र्यानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक बारीमा नै आउन थालेका छन् । कोरोनापछि अग्र्यानिक तरकारी खोज्दै उनको बारीमा धेरै उपभोक्ता पुग्छन् । प्राङ्गारिक तरकारी खेती गर्न पाउँदा एकदम खुसी लागेको उहाँ बताउनुहुन्छ ।

जिल्लका छवटा स्थानीय तहमा गरी दुई सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्य आम्दानी गर्न थालेका कृषि प्राविधिकजगत् बानियाँको अनुभव रहेको छ । बानियाँ भन्नुहुन्छ, “कोरोना कहर सुरु भएयता मानिसले अग्र्यानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।”

विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अग्र्यानिक खेती गर्नु कृषिविज्ञको भनाइ रहेको छ । म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषिफार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनीनगरपालिका–४ सिङ्गा र आवेबगरमा करिब रु १० करोडको लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मङ्गला गाउँपालिकाको हिदीमा रु तीन करोडको लगानीमा प्राङ्गारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्राङ्गारिक उत्पादनमा जोड दिँदै आएका छन् ।

म्याग्दीमा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् । कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका म्याग्दीका युवा कृषिमा प्रविधिको प्रयोग गरी बाँझो जमिन जोत्ने र खाद्यान्न उत्पादन बढाउने काममा लागेका छन् ।

सरकारले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याई कृषि उपकरण लगायत मल र बीउको पनि सहज रुपमा व्यवस्था गर्न थालेपछि कृषि क्षेत्रमा पनि युवाहरुको आकर्षण बढ्दै जान थालेको हो । विगत दुई वर्ष अघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजहरुको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । दुई वर्षअघि सम्म कूल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ ।
रासस