२०८१ आश्विन ६ , आइतवार

विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुखद्वारा निर्देशन

Capture – 2023-08-30T163043.902

सुनाखरी न्युज/ काठमाडौं ।
सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ । आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउने विषयमा छलफल भएको हो ।

आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिनुभयो । उपसभामुख, सचिवालयका सचिव र दश विषयगत समितिका नवनिर्वाचित सभापतिसँगको पहिलो बैठकमा उहाँले समितिको कार्यसञ्चालन कसरी गर्ने, कार्यसञ्चालनको वर्तमान स्थिति, विधेयकको अवस्थाका विषयमा छलफल गर्दै प्रभावकारी कार्य सञ्चालनका लागि निर्देशन दिनुभएको हो ।

बैठकपछि सभामुख घिमिरेले समितिले गतिका साथ काम गर्नुपर्ने, सभाले लिएका दायित्वहरू समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

“संसद्को प्रभावकारिता भनेको संसदीय समितिको प्रभावकारीता हो । विषेश किसिमका विधेयक समितिमा गएका छन् । अब आउने विधेयक पनि समितिमै जान्छन्”, बैठकका निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “समितिले विधेयकलाई सरोकारवालासँग प्रभावकारी रुपमा छलफल गरेर छिट्टो टुङ्ग्याउने र सभामा ल्याउने काममा अघि बढ्नुपर्छ ।”

अर्थ समितिको सभापति सन्तोष चालिसेले समिति सभापतिको भूमिका, विधेयकहरू अगाडी बढाउने विषय र समितिका कामलाई चुस्त बनाउनेलगायत विषयमा आजको बैठकमा छलफल भएको बताउनुभयो । “सभामुख र सचिवले सभापतिको भूमिकाअन्तर्गतर रही छिटोछरितो र चुस्त काम गर्नुपर्ने विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो, “सभामुखले पनि सभापतिले आफ्नो भूमिका इमान्दारिताका साथ अघि बढाउन र प्रभावकारी कार्यसम्पादनका लागि निर्देशन दिनुभएको छ ।”

कानून, न्याय तथा मानव अधिकार समितिको सभापति विमला सुवेदीले समितिमा रहेका विधेयक र समितिको कामलाई प्रभावकारी रूपमा अगाडी बढाउन र गम्भीर भएर काममा लाग्न सभामुखले आग्रह गर्नुभएको बताउनुभयो ।
रासस