२०८१ कार्तिक १७ , शनिवार

कृत्रिम गर्भाधारणमा निःशुल्क पशु प्राविधिक

Capture – 2023-09-03T141511.445

सुनाखरी न्युज/ काठमाडौं ।
इलामको देउमाई नगरपालिका–४ ले किसानका लागि दुई पशु प्राविधिक निःशुल्क खटाएको छ । पशुको कृत्रिम गर्भाधारणका लागि वडाकै बजेटबाट दुई पशु प्राविधिक खटाइएको हो ।

यसवर्ष पशुमा लाग्ने रोग लम्पी स्किनको महामारीबाट धेरै किसानका पशु मरेको तथा बिरामी परेका कारण किसानलाई राहतस्वरुप प्राविधिक कर्मचारी खटाइएको वडाध्यक्ष भीमलाल खनालले बताउनुभयो । उहाँले नश्ल सुरधारमा समेत किसानलाई यस कार्यक्रमले राहत मिल्ने विश्वास लिएको बताउनुभयो । लम्पी स्किनको सङ्क्रमणले किसानका पशु बिरामी परेको तथा मरेका कारण पनि किसानलाई पशुमा गर्भाधारणमा समस्या हुँदै आएको थियो । यो कार्यक्रमले किसानलाई समेत राहत मिलेको छ ।

गाईभैँसीको कृत्रिम गर्भाधारणमा किसानले कुनै प्राविधिक बापतको रकम तिर्नु पर्दैन । उन्नत जातका पशु उत्पादनमा वडावासीलाई हौसला बढाउनसमेत यो कार्यक्रमले फाइदा मिल्ने विश्वास लिइएको छ । यस कार्यक्रमले किसानले राहत पाएको महसुस गरे यसलाई निरन्तरता दिइने वडाध्यक्ष खनालले बताउनुभयो ।

यस वडामा बजार क्षेत्र भए पनि उत्तिकै मात्रामा पशुपालन गर्ने किसानसमेत छन् । याक्सी, मझुवा, धुसेनीको माथिल्लो क्षेत्रमा बढी पशुपालन हुँदै आएको छ । किसान मैत्री काम गर्न वडा तथा पालिकाले लाग्नुपर्ने भएकाले पनि सो कार्यक्रमको सुरुवात गरिएको वडा कार्यालयले जनाएको छ । कृषिसँगै स्वास्थ्य, शिक्षा, सडक, पर्यटन लगायतका क्षेत्रमा समेत वडाले थप नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ ।
रासस