२०८१ पुष २६ , शुक्रवार

बतासे झर्ना आन्तरिक पर्यटकको गतिलो गन्तव्य

Capture – 2023-09-04T142032.357

सुनाखरी न्युज/ काठमाडौं ।
चारैतिर हरियो वन, चराको चिरविरको मधुर आवाज, पहाडको गल्छीबाट बग्दै गरेको कलकल कञ्चनपानीको दृश्य नियाल्न आन्तरिक पर्यटक शुक्लाफाँटा नगरपालिका– ८ चुरे पर्वत शृङ्खलमा रहेको बतासे झर्ना पुग्न थालेका छन् । बाह्य कोलाहलबाट दिक्क भएका पर्यटक यो झर्नामा पुग्दा आनन्दित हुन्छन्।

कैलालीको गोदावरी नगरपालिकाबाट आइपुग्नुभएकी सविता चौधरी भन्नुहुन्छ, “झर्नाको दृश्य अलौकिक छ, यसले सबैलाई मोहित बनाउँछ ।”
झण्डै दुई सय फिट माथिबाट खस्ने झरनाबाट चिसो हावा बहने भएकाले यसलाई बतासे झर्ना भन्ने गरिएको हो । दुईतर्फ कडा चट्टान भएको साघुँरो ठाउँबाट झर्ना झर्ने गरेको छ । नगरपालिकामा जनपतिनिधि आएपछि यस यस गन्तव्यको खोजी तथा प्रचार–प्रसार गरिएको हो ।

स्थानीय धारापानी गाउँका सीता गौतम विगतमा यस स्थानमा साथीसङ्गीसँग घाँस काटन जाने र नुहाएर फर्कने गरेको बताउनुहुन्छ ।“गाउँको घाँस काटने क्षेत्रमा रहेको झर्नाले यतिको महत्व पाउला भनेर सोचेकै थिएनौँ” उहाँ भन्नुहुन्छ, “हाल झर्नाको अवलोकन गर्न, तस्वीर लिन, भिडियो बनाउन र नुहाउनका लागि आउने आन्तरिक पर्यटकको सङख्या दैनिक दुई सय हाराहारीसम्म पुग्ने गरेको छ ।”

“धारापानी कुन क्षेत्रमा पर्दछ भनेर पहिला चिनाउनु पर्दथ्यो, हाल झर्नाले गर्दा गाउँ पनि चिनिएको छ, व्यापार व्यवसाय हुन थालेको छ र यसले गर्दा आयस्तर पनि बृद्धि भएको छ” गौतमको भन्नुहुन्छ ।

झर्ना हेर्नका लागि कैलाली, कञ्चनपुरसँगै सीमावर्ती भारतीय क्षेत्रका पर्यटक पनि यहाँ आइपुग्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । “पहाडको माथिबाट झर्दै गरेको कञ्चन झर्ना देखेर मन्त्रमुग्ध नहुने कोही छैन” उक्त नगरपालिकाका पूर्वप्रमुख दिलबहादुर ऐर भन्नुहुन्छ, “मेरै पालामा नगरपालिकाभित्रका पर्यटकीय क्षेत्र पहिचान गर्ने क्रममा झर्नाको खोजी गरेका हौँ, नगरपालिकाबाट प्रकासित हुने क्यालेण्डर, पुस्तक, वार्षिक कार्यक्रम पुस्तिकामा पनि प्रचारका लागि यसको तस्बीर राख्ने कार्यसँगै सडकको ट्र्याक खोल्ने, होर्डिङबोर्ड राख्ने कार्य ग¥यौँ ।” त्यसपछि यस क्षेत्रले महत्व पाएको उहाँको भनाइ छ ।

झर्ना भएको क्षेत्रको जैविक विविधतामा खलल पुग्न नदिनका लागि सजग हुनुपर्नेमा पूर्वप्रमुख ऐर जोड दिनुहुन्छ । झर्नासँगै नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्र्धनसँगै आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनसके रोजगारीका अवसर सिर्जना भई युवाले विदेशिनु नपर्नेमा उहाँको ठम्याइ छ । वडाध्यक्ष बहादुर सिंह महरा भर्जिन पर्यटकीय गन्तव्य बतासे झर्नाको खोजी भएपछि मिडियाले ओझेलमा रहेको यस क्षेत्रलाई प्रचारमा ल्याईदिँदा पर्यटक बढ्न थालेको बताउनुहुन्छ ।

“छ, सात वर्षदेखि यस क्षेत्रसम्म पुग्ने सडक निर्माणका लागि कार्य अगाडि बढाउँदै आएका छौँ” उहाँ भन्नुुहुन्छ, “प्रतेक वर्ष पहिरोले सडक भासिने, भत्कने र बग्ने गरेकाले हैरान छौँं ।” कमजोर प्रकृतिको चुना अत्यधिक रहेको पहाड छ, थोरै वर्षा हुँदा पनि पहिरो निरन्तर गैरहन्छ, त्यसैले बनाएका सडकका संरचना जोगाउन कठिन रहेको वडाध्यक्ष महरा गुनासो गर्नुहुन्छ । “सडकलगायत संरचना निर्माणका लागि हालसम्म रु ३० लाखको हाराहारीमा खर्च भइसकेको छ तर पहिरोका कारण प्रगति शून्य देखिने गरको छ” उहाँ भन्नुहुन्छ ।

गत वर्ष मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत रु छ लाख ५० हजारको लागतमा झण्डै एक किलोमिटर क्षेत्रमा बनाइएको पदमार्गको ८० प्रतिशत भाग पहिरोले लगेको छ । सडकमै पहिरो जाँदा झर्नाभन्दा तीन किलोमिटर वर नै सवारीसाधन राखेर पैदल हिँड्न पर्यटक बाध्य छन् । पुरै पदमार्ग पहिरोले लग्दा पनि जोखिम मोल्दै पर्यटक झर्ना अवलोकनका लागि पुग्ने क्रम भने रोकिएको छैन ।

झर्नामा पुग्न नसक्ने पर्यटकले झर्ना हँुदै बग्ने धारापानी खोलाको चिसो पानीमा नुहाएर चित्त बुझाउने गरेका छन् ।
धारापानी खोलाकै डिलमै वडा कार्यालयले पिकनिक स्पट र चौतारा निर्माण गरेको गरेकाले पिकनिकका लागि आउनेको पनि घुइँचो लाग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँभन्दा दुई किलोमिटर वरसम्म मोटरसाइकललगायत सवारी साधनमा चढेर सहजै त्यहाँ पुग्न सकिन्छ ।
रासस/ राजेन्द्रप्रसाद पनेरु