२०८१ मंसिर १३ , बिहिवार

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलन सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं । दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन आसियान को ४३औँ शिखर सम्मेलन सम्मेलन जकार्तामा सुरु भएको छ ।

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित यो शिखर सम्मेलनको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आसियानलाई एकताबद्ध रहन र कुनै पनि शक्तिका पछाडि नलाग्न आग्रह गर्नुभयो । आसियान अध्यक्ष उहाँले सदस्य मुलकमा एकअर्काको अहित हुने तथा आफ्नो भूमिलाई प्रतिद्वन्द्वीको अखाडा नबनाउन आग्रह गर्दै स्थिर, समृद्ध एवं शान्त आसियान निर्माणमा योगदान गर्न अह्वान गर्नुभयो ।

आगामी तीन दिनसम्म जारी सञ्चालन हुने सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले समुदाय र संस्थाको रूपमा आसियानको भविष्यको खाका तयार गर्ने, सङ्गठनलाई अझ गतिशील तुल्याउने तथा क्षेत्रीय आर्थिक वृद्धिका विषयलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ ।

ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेको आसियान शिखर बैठकमा म्यान्मा सङ्कटलाई लिएर चिन्ता व्यक्त भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

आसियान नेताहरूले सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको सरकारलाई सैन्य विद्रोहबाट अपदस्थ गरेपछि दैनिक रुपमा भइरहेका घातक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आह्वान गरेका छन् । साथै उनीहरूले दक्षिण चीन सागरमा चीनको बलमिच्च्याइँ नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

म्यान्माको सैनिक सरकारले अन्तरराष्ट्रिय आलोचनालाई बेवास्ता गरेको र आफ्ना विपक्षीहरूसँग संलग्न हुन अस्वीकार गरेकोले आसियान नेताहरूले एकताबद्ध भएर अघि बढ्ने अडान राख्ने प्रयास गर्ने तथा तत्काल हिंसा अन्त्य गर्न पुनः वार्ता थाल्न सुझाएका छन् ।

शिखर सम्मेलनमा अनुपस्थित रहेको म्यान्मा आसियानको आगामी अध्यक्ष नहुने प्रायः पक्का भएको एएफपीले प्राप्त गरेको एक दस्तावेजमा जनाइएको छ । फिलिपिन्सले सन् २०२६ मा म्यान्माबाट आसियानको अध्यक्षता लिने घोषणा हुने अपेक्षा गरिएको छ । रासस