२०८१ आश्विन ६ , आइतवार

दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाउनुपर्छ : सचिव पोखरेल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताउनुभएको छ ।

भरतपुर अस्पतालको आज यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भोलिका दिनमा आवश्यकता अनुसारका दरबन्दी सिर्जना गर्दै जाँदा त्यो दरबन्दीमा जनशक्ति नपाइने हो कि भन्ने चिन्ता रहेको बताउनुभएको हो ।

आवश्यकताका आधारमा चिकित्सा शिक्षा आयोगले पढाएका विषयलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्यसम्बन्धी विषय पढाइदिओस् भन्ने आफूहरुको मान्यता रहेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव हुनसक्ने भन्दै उहाँले स्वदेशमै स्वास्थ्यका जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।

सचिव डा पोखरेलले चिकित्सा शिक्षा ऐन संशोधन राजनीति विषय भएको भन्दै चिकित्सा शिक्षा आयोग, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री बसेर छलफल गर्नुपर्ने बताउनुभयो । चिकित्सा शिक्षा ऐनमा केही परिवर्तन गर्नुपर्छ भन्ने कुरा आएको भन्दै उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीको पनि परिवर्तन गर्नुपर्छ भन्ने चाहना छ ।”
फरक प्रसङ्गमा उहाँले स्वास्थ्य बीमा निजी अस्पतालमा समेत सञ्चालन गर्न कोपेमेन्ट (बिरामीले समेत केही रकम तिर्ने गरी) जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा नेपाल सरकारको कार्यक्रम हो, निजीले लिने होइन ।”

उहाँले हालकै अवस्थामा बीमा निजीलाई दिन नहुने भन्दै बीमामा को–पेमेन्टको व्यवस्था गरेर, निजीमा एउटा को–पेमेन्ट र सरकारीले अर्काे को–पेन्टको हिसाबले चलाउनुपर्छ भन्ने मान्यता रहेको बताउनुभयो । यही आधारमा कार्यविधि परिवर्तन हुँदै गरेको उहाँको भनाइ छ ।

सचिव पोखरेलले आजै भरतपुर अस्पतालको अनुगमन गर्नुभयो । सो क्रममा सचिव डा पोखरेलले कतिपय समस्या नीतिगत भएकाले नीति परिवर्तनका लागि सबैले दबाब दिनुपर्ने बताउनुभयो ।

उहाँले भरतपुर अस्पतालको ओएनएम सर्भेको फाइल अगाडि बढेकाले छिट्टै स्वीकृत हुने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले अस्पतालको आम्दानी अस्पतालको स्तरोन्नति र कर्मचारीको सेवा सुविधामा खर्च गर्नुपर्ने बताउनुभयो ।

उहाँले अस्पताल विकास समितिमार्फत् नियुक्ति कर्मचारीको सेवा सुविधा समितिले निर्णय गरेर आवश्यकता अनुसार थप गर्दै जानुपर्ने राय दिनुभयो । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, निवर्तमान अध्यक्ष डा भोजराज अधिकारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेललगायत चिकित्सक, नर्स र कर्मचारीले अस्पतालका समस्याका बारेमा अवगत गराउनुभएको थियो ।
रासस