२०८१ आश्विन ६ , आइतवार

एमाले लुम्बिनी अध्यक्षमा पाल्पाका कँडेल दुई मतले विजयी

thumb

सुनाखरी न्युज/ बुटवल ।
नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा उनले प्यूठानका हरि रिजाललाई २ मतले हराउँदै विजयी भएका हुन् ।

निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीका अनसार कँडेलले ४ सय ७९ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै रिजालले ४ सय ७७ मत ल्याएका छन् । मंगलबार दिउँसो भएको निर्वाचनमा प्रदेशका १ हजार ५ प्रतिनिधि मध्यै ९ सय ६५ जनाले मतदान गरेका थिए ।

 

अध्यक्ष कँडेलसँगै उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, पुरुष उपसचिवमा रोल्पाका पूर्ण बुढामगर र महिला उपसचिवमा बर्दियाकी लिला राना मगर निर्वाचित भएकी छन् । सचिव पदमा यसअघि नै दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचितमध्ये पुरुष उपसचिवमा निर्वाचित रोल्पाका बुढामगर मात्र रिजाल प्यानका हुन् ।

उपाध्यक्षमा निर्वाचित श्रेष्ठले ४ सय ५५ मत ल्याएर विजयी भएका छन् । उनीसागै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए । बराल रिजाल समूहका हुन् । अन्य दुई जनाले छुट्टै उम्मेदवारी गरेर प्रतिस्पर्धा गरेका थिए । त्यस्तै उपसचिव खुलामा बुढामगर ४ सय १८ मत ल्याएर निर्वाचित भएका छन्न् । उनीसँगै बाँकेका दुर्गाप्रसाद थारू चौधरीले ३९३, रोल्पाका उपेन्द्रलाल कामीले १ सय १० मत ल्याएका थिए । चौधरी कंडेल प्यानलबाट निर्वाचन लडेका थिए ।

महिला उपसचिवमा लिला रानामगर ३ सय ५२ मत ल्याएर विजयी भएकी छन् । उनले रिजाल समूहकी वसन्ती अधिकारीलाई १ मतले पराजित गरेकी हुन् । अधिकारीले ३ सय ५१ मत ल्याएकी छन् । त्यस्तै प्यानल बाहिरबाट प्रतिस्पर्धा गरेकी लुम्बिनी प्रदेशकी पूर्व कृषिमन्त्री आरती पौडेलले २ सय २१ मत ल्याएकी छन् ।

 

यस्तै लेखा समिति अध्यक्षमा कँडेल समूहकै दामोदर घिमिरे विजयी भएका छन् । उनले रिजाल समूहका विष्णुराज बीसीलाई २ सय ७ मत अन्तरले पराजित गरेका हुन् । लेखा समितिको उपाध्यक्षमा बैकुण्ठ महत निर्विरोध निर्वचित भएका थिए । मंगलबार नेकपा एमालेको प्रथम लुम्बिनी अधिवेशनबाट पदाधिकारीमा सचिव आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको थियो । रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्लामा भूगोलबाट प्रतिनिधित्व गर्ने पद र खुल्ला पदहरुमा पनि प्रतिस्पर्धा भएको थियो ।

एमालेको २ सय ५ सदस्यीय लुम्बिनी प्रदेश कमिटीमा निर्वाचित बहुमत सदस्य पनि कँडेल समूहकै रहेका छन् ।