२०८१ मंसिर १३ , बिहिवार

जी–२० सम्मेलनको साझा वक्तव्यमा मतभेद

g20

सुनाखरी न्युज/ नयाँदिल्ली ।
जी–२० मा आबद्ध शक्तिशाली राष्ट्रहरूबीच मतभेदले नयाँदिल्लीमा हुन लागेको शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्दाहरूमा साझा सहमति कायम गर्न मुस्किल देखिएको छ । रुस–युक्रेन युद्धलाई लिएर जी–२० का देशहरूको फरक–फरक दृष्टिकोणले अन्य मुद्दाहरू पनि प्रभावित हुने देखिएको हो ।

भारतले अध्यक्षता गरेयता जी–२० का विभिन्न तहका सयौं बैठक भारतमा भएको छ । तर, कुनै पनि बैठकले अहिलेसम्म साझा बयान जारी गर्न सकेको छैन ।

युक्रेनको पक्षमा उभिँदै आएका अमेरिका तथा पश्चिमा मुलुकहरू जी–२० को मञ्चमा रुसलाई एक्ल्याउने रणनीतिमा छन् । तर, रुसले उक्त विषयलाई सम्मेलनमा प्रवेश नै गराउन नहुने दबाब बढाएको छ । रुसलाई चीनको बलियो साथ छ । दिल्लीको बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित हुनेछन् । दुई जना शक्तिशाली नेताको अनुपस्थितिले दिल्ली बैठकलाई केही हदसम्म खल्लो मात्रै बनाएको छैन, अन्तर्राष्ट्रिय मुद्दामा एकमत भएर निर्णय लिन पनि समस्या देखिन्छ ।

 

दिल्लीमा दक्षिण एसियाली विश्वविद्यालय अन्तर्राष्ट्रिय विभागका अध्यक्ष एसोसिएट प्राध्यापक धनञ्जय त्रिपाठी अन्तर्राष्ट्रिय मतभेदको असर जी–२० मा पनि पर्ने कुरा अस्वाभाविक नरहेको बताउँछन् । ‘रुस र युक्रेन युद्धको विषयमा अन्तर्राष्ट्रिय जगत् विभाजित छ, त्यसको असर त देखिने नै छ,’ उनले भने ‘संयुक्त वक्तव्य सबैको सहमतिमा मात्रै सम्भव हुन्छ । त्यसैले विवादित विषयबाहेकको हकमा साझा बयान आउन सक्छ ।’ आयोजक राष्ट्र भारतले साझा बयान जारी गराउन हरसम्भव कूटनीतिक प्रयास जारी राख्ने र त्यसमा सफल हुने उनी विश्वास व्यक्त गर्छन् ।