सुनाखरी न्युज/ काठमाडौं ।
ओझेलमा परेको भानु जन्मस्थलको प्रचारमा नयाँ आयाम थप्न यहाँका ब्राह्मण लोपोन्मुख बालन नाच संरक्षणमा जुटेका छन् । बालन नाचका माध्यमबाट यहाँका ब्राह्मणले रामायणको गाथा व्यक्त गर्दै भानुभक्तको योगदानका बारेमा समेत चर्चा गर्दै आएका छन् ।
रामायणलाई नेपालीमा उल्था गर्ने भानुभक्त आचार्यको प्रचारप्रसारमा टेवा पु¥याउन आफूहरुले बालन नाचलाई संरक्षण गर्ने अभियान थालेको भानु नगरपालिका–५ का बालन नाचका गुरु ७२ वर्षीय तारानाथ पोखरेलले बताउनुभयो । आफूहरु १२ जना सङ्गठित भई ‘भानु बालन तथा भजन समूह’ दर्ता गरी बालन नाच संरक्षणका लागि जुटेको बालन नाचका गुरु पोखरेलले बताउनुभयो ।
“भानु जन्मिएकै ठाउँमा बालन नाच नाच्दैनन् रे भन्दा कस्तो सन्देश जाला भन्ने कुराले हामीलाई मनैदेखि छोयो”, उहाँले भन्नुभयो, “बालन नाचबाट रामायणको गाथा र भानुभक्तका बारेमा समेत चर्चा गर्न आवश्यक ठानेर नाच्न सुरु ग¥यौँ ।”
आफूले युवा अवस्थामा नाचेको बालननाचलाई स्मरण गर्दै गाउँका ब्राम्हणलाई नाच्न सिकाएको पोखरेलको भनाइ छ । बालन नाच्दा रामायण, महाभारत, पुराण, रामचरित्र र कृष्ण चरित्रका बारेमा गीतबाट गाथा गाइने भए पनि भानुभक्त जन्मिएको गाउँका आफूहरुले रामचरित्र र रामायण गाथालाई उजागर गर्दै आएको पोखरेलले बताउनुभयो ।
धेरै वर्ष पहिले नाचेर छाडिएको बालननाचलाई आफूहरुले २०६८ सालदेखि पुनःनाच्न थालेको समूहका अध्यक्ष ७३ वर्षीय महाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । बालन नाच्दा र गाउँदा आफूहरुले दौरा, सुरुवाल, इष्टकोट र भानुभक्तले लगाउने विर्के टोपी अनिवार्य लगाउने गरिएकाले नाचको थप शोभा बढेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
“बालन नाच्दा भानुभक्तको टोपी अनिवार्य लगाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “यस्तो पोशाक लगाएर रामायणको गाथामा नाच्दा दर्शकलाई समेत रोचकता थप्ने रहेछ । अझै यो नाचलाई भानु जन्मस्थलकै गरिमाका रुपमा विकास गर्न हामी अग्रसर भइरहेका छौँ ।” बालन नाच संरक्षणमा भानु नगरपालिकाको कार्यालयलेसमेत चासो देखाएपछि आफूहरुलाई थप हौसला जागेको उहाँले बताउनुभयो ।
भानु–५ का वामदेव मिश्र, जयकाली ढकाल, ऋदय पौडेल, लक्ष्मीप्रसाद सापकोटा, गोविन्द अधिकारी, श्रीभद्र पौडेल, प्रेमहरि पौडेललगायत बालन संरक्षणमा जुट्दै आउनुभएको छ । युवापुस्तालाई नाच्न सिकाउने समूहको लक्ष्य भए पनि वैदेशिक रोजगारीका कारण युवाहरु विदेश गएकाले अधिकांशलाई सिकाउन नसकिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
“हामीले बालन नाचलाई जीवन्त राख्नुपर्छ भनेर संरक्षणमा जुटेका छौँ”, समूहका सदस्य राजु पोखरेलले भन्नुभयो, “हामीले नाच्न जानिसकेका छौँ । तर गुरुले गाए झैँ गाउन भने केही समय लाग्ला । अब बालन नाचको नशा लागिसकेको छ । यो नाचलाई त्यसै मर्न दिने छैनौँ ।”
विदेशबाट गाउँ आउने युवालाई समेत आफूहरुले बालन नाच्न सिकाउने गरेको उहाँले बताउनुभयो । बालन नाच्नका लागि जिल्लाको विभिन्न स्थानमा यो समूह गइसकेको छ । बालन नाच्दा आफूहरुले दर्शकबाट उत्साह र हौसला पाउने गरेकाले पनि संरक्षण गर्नुपर्ने बोध भएको पोखरेलको भनाइ छ ।
बालन, पाउदुरे, सोरठी, चुड्का र घाँटु लगायतको लोपोन्मुख नाच संरक्षणका लागि नगरपालिकाको कार्यालयले सहयोग गर्दै आएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।
“विभिन्न जातीय संस्कृतिलाई संरक्षण गर्ने दायित्व राज्यको हो”, उहाँले भन्नुभयो, “बालन नाचले भानुभक्त आचार्यको महिमालाई उजागर गरेको छ ।”
बालन नाच्ने समूहलाई ‘गर्रा’ भनिन्छ । गर्रा मध्येबाटै श्लोक भट्याउनेलाई ‘गुरु’ भनिन्छ । गुरुको नेतृत्वमा गर्राहरुले आफूलाई प्रस्तुत गर्नुपर्छ । गुरुले भनेका श्लोकलाई चार/चार जनाको समूहमा विभाजन भई ब्राह्मणले पुनःश्लोक भट्याउँदै हात र खुट्टाको तालसमेत मिलाउँदै पालैपालो नाच्ने गर्छन् । बालन नाच्नेले आफूहरुलाई चरित्रअनुसारको अभिनयमा प्रस्तुत गर्ने गर्दा बालन नाच हेर्ने दर्शकलाई अनौठो र रोचक लाग्ने गर्दछ ।
रासस