२०८१ पुष २९ , सोमवार

सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान गर्नुभएको छ ।

कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट ‘क्युएए’ प्रक्रियाबाट प्रमाणीकरण भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उहाँले प्रमाणीकरणपछि सोहीअनुरुप गुणस्तर कायम गर्नुपर्ने सुझावसमेत दिनुभयो ।

“सामुदायिक क्याम्पसलाई क्युएएको चक्रभित्र प्रवेश गराउँदै गुणस्तर कायम गराउनु आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले क्युएए प्रमाणीकरण गरेको प्रत्येक वर्ष अनुगमन गर्ने जानकारी दिँदै सोहीअनुरुप गुणस्तरलाई कायम राख्न क्याम्पस एवं विद्यार्थीलाई सुझाव दिनुभयो ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा डा पेशल दाहालले सामुदायिक क्याम्पसको गुणस्तर बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्युएए प्रमाणीकरण भएका सामुदायिक कलेजप्रतिको हेर्ने नजरमा परिवर्तन आएको छ ।” रजिस्ट्रार प्रा डा दाहालले शैक्षिक संस्थामा प्रागिक गतिविधिबाहेकका वैकल्पिक प्रभाव पर्न नदिन सुझावसमेत दिनुभयो ।

कोटेश्वर बहुमुखी क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले क्याम्पस र विद्यार्थीको मेहनतका कारण गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाको प्रमाणीकरण प्राप्त भएको जनाउँदै क्याम्पसको समग्र गुणस्तर उकास्ने कार्यमा निरन्तर अगाडि बढेको बताउनुभयो । रासस