२०८१ मंसिर ९ , आइतवार

कृषिमा भविष्य देख्दै नब्बे वर्षीय गुरुङ

farm

सुनाखरी न्युज/ काठमाडौं ।
व्यास नगरपालिका–५ पाटन निवासी केबी गुरुङ ९० वर्ष पुग्नुभयो । उमेरले डाँडा काटिसके पनि उहाँमा जोश र जाँगर भने सोह्र वर्षे जावनीको भन्दा कम छैन । साविक कृषि विकास कार्यालयको अधिकृत पदको जागिर छाडेर कृषि पेशामा लाग्नुभएका उहाँले एक सयरोपनीभन्दा बढी जमिनमा विभिन्न खेती गर्दै आउनु भएको छ ।

आठ वर्षसम्म अधिकृतस्तरको सेवा गर्नुभएका गुरुङले विसं २०३२ मा जागिर छाडेर जडीबुटी, फलफूल र बाँस खेती गर्नुभएको हो । भारतको कानपुरमा बिएसी पास गरेर आएपछि नेपालका विभिन्न जिल्लामा जागिर गर्दै तनहुँमा सरुवा भएर आएपछि कृषि क्षेत्रतर्फ आफ्नो मोह बढेको उहाँले बताउनुभयो ।

जिल्लामा आएको चारवर्षपछि अन्यत्र जिल्लामा सरुवा गभएपछि जागिरभन्दा कृषि पेशातर्फ आर्कर्षित भएको गुरुङ्को भनाइ थियो । यस जिल्लाबाट अन्यत्रै सरुवा गरेपछि बगैँचा छाड्ने कि जागिर भन्ने दुबिधा भयो र अन्ततः जागिर नै छोडिएको उहाँले बताउनुभयो ।

विगत वर्षमा वार्षिक रु तीस लाखदेखि चालिस लाखसम्मको बाँस र बाँसका बिरुवा बिक्री गर्दै आए पनि गतवर्ष मुस्किलले रु दस लाख बराबरको बिक्री गरिएको गुरुङले बताउनुभयो । महामारीको रुपमा फैलिएको कोरोनापश्चात् मानिस विदेश पलायन हुने क्रम बढेसँगै कृषि पेशा ओझेलमा पर्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“अबको एक वर्षभित्र अगरउड बिक्री गर्न लायक भएकाले करोडौँका अगरउड बिक्री गर्ने योजना छ”, गरुङले भन्नुभयो, “छब्बीस वर्ष पूरा भएका दुई सय ५० वटा रुखमा कृत्रिम रसायन दिई अगरउड उत्पादन गर्न लागेको छु । भारतको आसामबाट प्रतिबिरुवा रु पचासमा खरिद गरेर व्यावसायिकरुपमा बिरुवा लगाइएको अगरउड बिक्री हुन थालेपछि मात्रै खुसीको क्षण आउने छ ।”

अगरउडको खेतीसँगै उहाँले बर्सेनि करिब रु दुई÷तीन लाखको अगरउडका बिरुवा बिक्री गर्दै आउनुभएको छ । रित्तो डोको लिएर आएको थिएँ, छिट्टै भरी नोट लिने सपना बुनेको छु,गरुङले भन्नुभयो,“सरकारले अगरउड र गाँजा खेतीलाई बढवा दिनसके देशको विकासमा आमूल परिवर्तन गर्न सकिन्छ ।”

अगरउडको बोक्राबाट सिन्केधूप र बाटेको धूप बनाउन सकिन्छ भने सक्कली अगरउड सुनको मूल्य बराबरमै बिक्री हुने अति महँगो बास्नादार बस्तु उत्पादन हुन्छ । किसान गुरुङका बगैँचामा अगरउडका साथै सुगन्ध कोचिला, तेजपात, श्रीखण्ड, एभोकाडो, सुन्तला, कागती, आँप, लिची, रुद्राक्षलगायत फलफूल र जडीबुटी छन् ।

त्यसैगरी बाँसतर्फ स्थानीय, इण्डियन बाँस, लठ्ठे, नियाले चिल्ले, तारुका, ढुङ्ग्रे, मला, तामा, धनुलगायत बीस प्रजातिका बाँस अहिले बगैँचामा छन् ।

सुरुमा बयालिस प्रजातिका बाँस लगाए पनि केही चोरी भएको र केही मरेका कारण बाँसका प्रजाति घट्दै गएको उहाँले बताउनुभयो । कृषि क्षेत्रमा नै जीवन बिताउँदै आउनुभएका किसान गुरुङमा पछिल्लो समय दुबै मिर्गौलाको समस्या भएकाले केही समय अघिदेखि डायलासिस गर्दै आउनुभएको छ ।

डायलासिसमा मासिक रु पैतालिस हजार खर्च गरी उपचार गर्दै आएको उहाँले बताउनुभयो ।
रासस