२०८१ आश्विन ७ , सोमवार

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

विसं २००९ फागुन २८ गते जन्मनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक आगामी असोज १२ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
रासस