सुनाखरी न्युज/ काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर आज धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र स्पेसल प्रि–सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै आजबाट नियमित सत्रका लागि कारोबार खुलेको हो।
प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४८६.६० रुपैयाँमा कारोबार भएको छ। नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँ र अधिकतममा ४८६.८७ रुपैयाँ तोकेको थियो। रिलायबल नेपाल लाइफले नेप्सेबाट ‘आरएनएलआई’ कारोबार संकेत पाएको छ। नेप्सेमा गत बुधबार रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भएको थियो। गत बिहीबार सरकारले सार्वजनिक बिदा दिएकोले यो कम्पनीको सेयर आइतबारबाट कारोबारमा आएको हो।
नेप्सेमा रिलायबल लाइफको कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १ करोड २० लाख कित्ता सेयर रहेको छ।