२०८१ पुष २८ , आइतवार

३३ महिनापछि चालु खाता बचतमा, शोधनान्तर बचत एक महिनामै ३३ अर्ब पुग्यो

New Note

सुनाखरी न्युज्/ काठमाडौं ।

चालु खाता ३३ महिनापछि बचतमा गएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ ।

२०७७ कात्तिकसम्म बचतमा रहेको चालु खाता त्यसयताको ३३ महिनासम्म घाटामा थियो । २०७८ साउनदेखि लगातार १४ महिना घाटामा रहेको शोधनान्तर स्थिति भने २०७९ असोजदेखि बचतमा गएको थियो । शोधनान्तर बचत भएपनि चालु खाता घाटा कायम रहँदा अर्थतन्त्रमा देखिएको दबाब कायमै थियो ।

गत आर्थिक वर्षमा शोधनान्तर बचत २ खर्ब ९० अर्ब भन्दा बढी भएपनि चालु खाता घाटामा थियो । तर, यो वर्षको आर्थिक वर्षको पहिलो महिनामा भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

चालु आर्थिक वर्षको पहिला महिना साउनमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा चालु खाता ११ करोड ८८ लाख बचतमा छ । गत आर्थिक वर्ष २०७९र८० को सानउनमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा थियो । शोधनान्तर स्थिति पहिलो महिनामा नै ३२ अर्ब ९० करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति पनि १९ अर्ब ७६ करोडले घाटामा थियो ।

 

साउनमा २ अर्ब ६५ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी पनि आएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक थियो ।