२०८१ आश्विन ७ , सोमवार

चाडबाडका बेला शान्तिसुरक्षाबारे चनाखो हुन सुरक्षा निकायलाई निर्देशन

naran kaji shrestha
सुनाखरी न्युज/ काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ । आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव,  प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव,  सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो ।
सुरक्षा निकाय प्रमुखसँगको छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्का तथा गृहमन्त्री श्रेष्ठले देशको समग्र शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको छ । शान्तिसुरक्षाको अवस्था दुरुस्त राख्न तथा सामाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन पनि सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिइएको छ ।
चाडबाड नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिनुभएको छ ।
चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाइ समेत थप प्रभावकारी बनाउँदै कहीँकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिनुभएको छ ।
सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकाले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको  छलफलका क्रममा राजनीतिक र आपराधिक घटनाहरू समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा आपराधिक गतिविधि हुन सक्नेमा ध्यान दिन निर्देशन दिनुभएको छ । छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै, आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री खड्काले भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर कार्यवाहक  प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो ।रासस