२०८१ आश्विन ७ , सोमवार

सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

madav nepal

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि पार्टीको भएको उनले बताए ।

एकीकृत समाजवादीलाई बाहिर निकालेर सत्ता गठबन्धन कमजोर पार्ने प्रयास भइरहेको नेपालले बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एकीकृत समाजवादीले होसियार भएर अगाडि बढ्न नेताहरूलाई आग्रह गरेका थिए । वर्तमान सत्तारुढ गठबन्धन बनाउन आफूहरूले नै भूमिका खेलेको भन्दै जोगाउन पनि लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्ने तर कमजोरी भएका छन् भने आलोचना गर्न सकिने उल्लेख गरे । उनले भने, ‘बेठिक भए त्यसको पनि आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो । हामीले लिने गरेको नीति के हो भने एकता पनि गर्ने, अनुचित कुराका बिरुद्धमा संघर्ष पनि गर्ने र संघर्ष गरेर नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने हो । एकता, संघर्ष र उन्नत स्तरको एकता गर्ने हो’ ।

त्यस्तै, अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरेका छन् । व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको उनले बताए ।