सुनाखरी न्युज/ काठमाडौं ।
प्रथमपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउनुहुन्छ । यस अवसरमा आजै गणेश रथयात्रा पनि गरिने जनाइएको छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले आज चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने यो पर्व यस वर्ष मङ्गलबार नै परेको छ ।
यस पर्वका अवसरमा आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउने गर्छन् । यसवर्ष तिथिको घटबढका कारण ऋषिपञ्चमी पर्व पनि आजै परेको छ । आज गणेशको पूजा, आराधना गरेपछि आजै महिलाले खोला, नदी, ताल, तलाउमा विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गर्ने गर्छन् ।
रासस