२०८१ मंसिर १५ , शनिवार

संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्रीहरु

Screenshot 2023-09-20 144147
सुनाखरी न्युज/ काठमाडौं ।
 विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयतालाई प्रभावकारी बनाउनका लागि संविधानको कार्यान्वयनमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँहरुले संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुने बताउनुभयो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा स्थापित नागरिक अधिकार कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले  लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो  ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानकोे मर्मअनुसार लोकतन्त्र र सङ्घीयता बलियो बनाउन तीनै तहका सरकार अधिकारसम्पन्न हुनु पर्ने बताउनुभएको छ । उहाँले  सङ्घीयता कार्यान्वयन भइसक्दासमेत प्रदेश सरकारले अझै पूर्ण अधिकार पाउन नसकेको अवस्था रहेको बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परिवर्तित व्यवस्थासँगै जनताको अवस्था परिवर्तनका लागि नयाँ खालको संघर्ष जरुरी भएको बताउनुभएको छ  । “एकात्मक राज्यव्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अर्थात् जनमैत्री शासन व्यवस्था ल्याइएकाले सिंहदरबारभित्र केन्द्रित अधिकार गाउँ गाउँमा पुगेको छ । यो नै विभिन्न चरणमा भएका भएका आन्दोलनका उपलब्धि हो”, उहाँले भन्नुभयो ।
 रासस