२०८१ मंसिर १४ , शुक्रवार

कोशी प्रदेशमा सरकारमा सहमतिको प्रयास जारी छ : प्रवक्ता मेन्याङ्बो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतीय सरकार निर्माणको प्रयास थालिएको बताउनुभयो ।

“जनताले सबै दल मिलेर सरकार बनाऊ भन्ने सन्देशसहित जनमत दिएका छन् । कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन”, प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री मेन्याङ्बोले भन्नुभयो ।

उहाँले प्रदेश सरकार अस्थिर हुँदा जनतामा सङ्घीयताप्रति नै वितृष्णा सिर्जना हुने अवस्था आएको समेत बताउनुभयो । अहिलेकै अवस्थामा मध्यावधि निर्वाचनमा जाने स्थिति पनि नभएको उहाँको भनाइ छ । निर्वाचनमा जाँदा राज्यको ठूलो खर्च हुने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतिको विकल्प नभएको उहाँको भनाइ छ ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री मेन्याङ्बोले प्रदेश नामकरणका विषयमा असतुष्ट पहिचान पक्षलाई वार्तामा आउन आह्वान गर्नुभयो । “प्रदेशको नाम सबै दलको समर्थनमा नामकरण भएको हो”, प्रदेश सरकारको तर्फबाट गठित वार्ता समितिका संयोजक मेन्याङ्बोले भन्नुभयो, “असहमति राख्ने छुट सबैलाई छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।”

मन्त्री मेन्याङ्बोले प्रदेश सरकारबाट सञ्चालित योजनाका बारेमा प्रचारप्रसार गर्न आग्रह पनि गर्नुभयो । “प्रदेश सरकारबाट सञ्चालित धेरै योजनाबारे जनतालाई जानकारी छैन । स्वास्थ्य, वन तथा वातारण, खानेपानी, सिञ्चाइँ, उर्जालगायतका क्षेत्रमा प्रदेश सरकारको ठूलो लगानी छ”, उहाँले भन्नुभयो, “सङ्घीयतालाई स्थायित्व दिन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । प्रदेश सरकारले गरेका हरेक क्रियाकलापका बारेमा खबरदारीपूर्ण तवरले कलम चलाउन सबै पत्रकारहरुलाई म आग्रह गर्दछु ।”
रासस