२०८१ पुष २७ , शनिवार

एसियाली खेलकुद आजदेखि, ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता

Olympic stadium china

नेपालका २५३ खेलाडीले २९ खेलमा भाग लिँदै

सुनाखरी न्युज/ हाङचउ, चीन।
एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ, यो एसियाली खेलकुदमा अहिलेसम्मको कुनै पनि सहभागिताभन्दा बढी हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ ।

 

प्रतियोगिता आयोजना कमिटीका प्रवक्ता चेन वेइछिङले भनेका छन्, ‘हामीले यस प्रतियोगिताको आयोजनाका क्रममा धेरै चुनौती सामना गरेका छौं, तर अहिले प्रतियोगिताको पूर्ण सफलताका लागि हामी पूर्णतः तयार छौं ।’ प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।

 

हाङचउ छेउछाउका केही अन्य सहरले पनि केही खास–खास खेलको आयोजना गर्दै छ । सांघाईबाट बुलेट ट्रेनबाट एक घण्टाको दूरीमा रहेको हाङचउको जनसंख्या कुल १ करोड २० लाख रहेको छ र यहाँ प्राचीन बौद्ध मन्दिरहरू रहेका छन् । यसलाई पहाड र तालको सहर पनि भन्ने गरिन्छ । यहाँका बगैंचा पनि ऐतिहासिक महत्त्वका रहेका छन् । हाङचउको सबैभन्दा ठूलो परिचय यहाँको ‘वेस्ट लेक’ रहेको छ । यो अलिबाबाका ज्याक माको जन्मथलो पनि हो । प्रविधिमा निकै अगाडि रहेको हाङचउ सहर ड्राइभरविहीन बस, रोबट कुकुर र अनुहार चिन्ने प्रविधिका लागि पनि प्रसिद्ध छ ।

 

उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झन्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाउन लागेका छन् ।

 

नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ ।