प्रहरी सङ्गठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री कार्की
Posted on:
सुनाखरी न्युज/ काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई कमजोर बनाउने प्रयास राज्यबाट हुन नहुने बताउनुभएको छ । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रियामा उहाँले माथिल्लो निकाय सच्चियो भने सुरक्षा निकाय आफैँ सुदृढ एवं बलियो हुने दाबी गर्नुभयो ।
बहुजातीय र बहुभाषिक हाम्रो देशमा मिल्नुको विकल्प नरहेको जिकीर गर्दै मुख्यमन्त्री कार्कीले प्रहरी ऐनको अभावमा प्रदेशमा सरकारले ऐन बनाउन नसकेको जानकारी दिनुभयो । उहाँले प्रहरी प्रदेश सरकारको मातहतमा नरहेका कारण कतिपय विषयमा प्रदेश सरकारलाई समस्या भइरहेको टिप्पणी गर्दै कोशी प्रदेशका सुरक्षा निकाय निकै गम्भीर छ भत्रुभयो ।
उहाँले सङ्घीय सरकारको संरचनामा प्रदेश सरकार लगानी गरेमा बेरुजु हुने खतरा रहेको भन्दै सामाजिक सद्भाव भड्किन नदिन सबै राजनीतिक दलको केन्द्र तहमा सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याउनुभयो ।
खुल्ला सीमा व्यवस्थित भएमा राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आफूतर्फ लागि परेको बताउनुभयो । कोशी प्रदेशमा लागू औषध दुव्र्यसनीको ठूलो समस्या रहेको भन्दै उहाँले चाडपर्वको समयमा बजारमा कालोबजारी हुन नदिन प्रहरी प्रशासन चनाखो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले कोशी प्रदेशमा जनताले चुनाव नचाहेको अवस्थामा कोशी प्रदेश सरकारलाई स्थिर बनाउन केन्द्र तहका राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो । रासस