२०८१ पुष २९ , सोमवार

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती

canada

सुनाखरी न्युज/ काठमाडौं ।
भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।

साथै नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनु भएका भारतका विदेशमन्त्री एस जयशङ्करले मङ्गलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताउनुभयो ।

हालै क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्रमरी चिसिएको छ । आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्काशन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् ।

भारतले क्यानाडको विश्वसनीय सूचनालाई उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशङ्करले त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहो¥याउनुभयो । उहाँले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिनुभयो ।

हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतङ्कवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।

सन् अस्सीको दशकमा शिख बहुल पञ्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रुप लिएको हो । यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विराधि गतिविधि गर्दै आएका छन् ।
रासस