सुनाखरी न्युज/ काठमाडौं । एट टु नाईन युवा क्लबको आयोजनामा असोज १७ गतेदेखी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।
असोज १७ गतेदेखी २३ गतेसम्म पोखरा १३ माछापोखरी खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । एक हप्तासम्म चल्ने प्रतियोगिताबाट बचत हुन आएको रकम रग्बी खेलाडी यशोदा बोहोरालाई प्रदान गरिनेछ । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् ।
यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । उनलाई आर्थिक सहयोग गर्न प्रतियोगिताको आयोजना गरेको प्रतियोगिता संयोजक लोक गुरुङले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगद प्रदान गरिनेछ ।