२०८१ मंसिर ११ , मंगलबार

एसियाली खेलकुद : महिला कबड्डीमा बंगलादेशविरुद्ध नेपाल विजयी

nepal kabadi team

 

सुनाखरी न्युज / काठमाडौं ।

चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले बंगलादेशलाई पराजित गरेको छ। हाङझाउ जिआओसान गुआली स्पोट्र्स सेन्टरको कोर्ट–२ मा भएको भिडन्तको १५ मिनेटको पहिलो हाफमा नेपालले २१–१६ को अग्रता लियो ।सोमबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्‍यो ।

 

बंगलादेशलाई पराजित गरेसँगै महिला कबड्डीबाट नेपालले पदक जित्ने सम्भावना बढेको छ। नेपाल रहेको समूह ‘बी’मा नेपाल, इरान र बंगलादेश छन्। समूह ‘ए’मा भारत, दक्षिण कोरिया, थाइल्याण्ड र चाइनिज ताइपेई छन्। एसियाली खेलकुदको महिला कबड्डीमा सात टिमको मात्र सहभागिता छ । जसमा तीन टिम रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना छ । जसअनुसार सेमिफाइनलमा पुग्दै नेपालले महिला कबड्डीबाट पदक जित्ने सम्भावना देखिएको हो।

अब नेपालले इरानसँग मंगलबार खेल्ने तालिका छ । सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ । त्यसका लागि बुधबार इरानले बंगलादेशलाई पराजित गर्नुपर्ने समीकरण बनेको छ । एसियाली खेलकुदमा १३३ स्वर्ण जित्दै चीन शीर्ष स्थानमा छ। सोमबार बिहानसम्म चीनले १३३ स्वर्ण, ७२ रतज र ३९ कास्यसहित २४३ पदक जितेको छ।

 

दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ३० स्वर्ण, ३५ रजत र ६० कास्यसहित १२५ पदक जितेको छ। तेस्रो स्थानमा रहेको जापानले २९ स्वर्ण, ४१ रजत र ४२ कास्यसहित ११२ पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले १३ स्वर्ण, २१ रजत र १९ कास्यसहित ५३ पदक जितेको छ।