२०८१ कार्तिक १६ , शुक्रवार

अङ्कारा बम हमलाकारी सिरियाबाट आएका हुन् : टर्कीएका विदेशमन्त्री

Capture

सुनाखरी न्युज/ काठमाडौं । टर्कीएका विदेशमन्त्री हकान फिदानले राजधानी अङ्कारामा हालैको आत्मघाती बम हमलाका जिम्मेबार दुई आक्रमणकारी सिरियाबाट आएको खुलासा गर्नुभएको छ ।

“दुई आतङ्ककारी सिरियाबाट आएको र यहाँ तालिम प्राप्त गरेको स्पष्ट भएको छ”, आक्रमणको स्पष्ट जवाफ दिने प्रतिज्ञा गर्दै पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

टर्कीएको आन्तरिक मामिला मन्त्रालयको भवनमा आइतबार आत्मघाती बम हमला भएको थियो । हमलामा दुई प्रहरी अधिकारी घाइते भएका थिए ।

हमलाका क्रममा एक आत्मघातीले आफैँलाई उडाएका थिए भने अर्का आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको थियो ।

बुधबारसम्म टर्कीएको आन्तरिक मामिला मन्त्रालयले दुई आक्रमणकारी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का सदस्य भएको पहिचान नगरेको भए पनि टर्र्कीएका लडाकु विमानहरूले बम हमला भएको केही घण्टापछि नै उत्तरी इराकमा रहेको पीकेकेका संदिग्ध लक्ष्यहरूमा आक्रमण गरेको थियो ।

टर्कीए, अमेरिका र युरोपेली युनियनले पीकेकेलाई आतङ्ककारी सङ्गठनको सूचीमा राखेका छन् । तीन दशकभन्दा लामो समयदेखि पीकेकेले टर्कीस सरकारविरुद्ध विद्रोह गर्दै आएको छ । टर्कीएले उत्तरी इराकमा पीकेकेविरुद्ध सीमापार आक्रमण सुरु गरेको छ ।

टर्कीएले इस्लामिक स्टेट लडाकु र अङ्काराले पीकेकेको सिरिया शाखा भन्दै आएको कुर्दिश वाइपीजी लडाकुको ‘आतङ्ककारी’ हमलाहरूबाट सिरियासँगको आफ्नो सिमाना क्षेत्रलाई सुरक्षित बनाउने प्रयास गरिरहेको छ । रासस