२०८१ पुष १२ , शुक्रवार

दशैंका लागि भित्रियो च्याङ्ग्रा, गत बर्षको तुलनामा यो बर्षको मुल्य कस्तो ?

Chyangra-Pokhara-1024×508

सुनाखरी न्युज/ कास्की ।

चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।

 

बझाङबाट शुक्रबार भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने बताए ।

‘दसैँ लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्छ नबिक्ला भन्ने हुन्न,’ व्यापारी धामीले भने, ‘बरु जति छिटो ल्याउन सक्यो, उति धेरै बिक्री हुने र फाइदा मिल्छ भनेर पहिला नै ल्याएको हुँ ।’ एक सय २७ च्याङ्ग्रा लिएर आउनुभएको उहाँले २० वटा बिक्री गरिसकेको सुनाए ।

राजेन्द्रबहादुरले रू २५ हजारदेखि रू ४५ हजारसम्ममा च्याङ्ग्रा बेचिरहेको बताए । ‘रोजेर लैजानेहरुसँग रू ४५ हजारसम्म लिने गरेको छु,’ उनले भने, ‘घाटा पर्छ कि भन्नेहरुका लागि जिउँदै जोखेर एक किलोको रू आठ सय ८० का दरले हिसाब गरेर बेचेको छु ।’

 

अर्का व्यापारी सर्पलाल थापाले रोज्जा च्याङ्ग्राको मूल्य बढीमा रू ५७ हजारसम्म पर्ने बताए । उनले आफूकामा रू ३५ देखि रू ५७ हजारसम्मका च्याङ्ग्रा रहेका जानकारी दिनुभयो । गोठमा खरिद दर नै रू ५३ हजार परेकाले बेच्ने भाउ बढेको उनले बताए ।

दसैँका बेला हिमाली भेगबाट झारिने भेडाच्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा महानगरपालिका–१ सिम्पनीका स्थानीय कृष्णप्रसाद भण्डारीले बताउनुभयो । सुरुमा ल्याउँदा महँगो भने पनि पछि सस्तो हुने उनको भनाइ थियो ।

‘पोहोर पनि सुरुमा रू ४०र५० हजार भन्न भ्याएका थिए । पछि रू १८ हजारसम्ममा किनेर लगियो,” उहाँले भन्नुभयो, “यो पालि पनि सुरुमा ५७ हजारसम्म भनेका छन् । साह्रै महँगो छ ।’

दसैँमा धेरैले सिङ्गै घर लगेर काट्छन् भने सिङ्गै लैजान नसक्नेहरु मिलेर काटेर बाँड्छन् ।