सुनाखरी न्युज / काठमाडौं ।
गत असोज ७ गते महोत्तरीको गौशाला नगरपालिका– ११ भरतपुर टोलका शम्भु महतोको ६ लाख ३६ हजार रुपैयाँ खोसेर भाग्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषर बस्ने २९ वर्षीय रमेश सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।
गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी छोरीले पठाएको ६ लाख ३६ हजार रूपैयाँ बैंकबाट निकालेर घर जाँदै गर्दा लुटिएका थिए। ओखलढुंगाबाट छोरी पुनिता देवी महतोले सुजर्कला देवीको खातामा सो रकम पठाएकी थिइन्।महतो दम्पतीले गौशाला ५ मा रहेको बैंकबाट रकम निकालेर घर गइरहेको क्रममा हाइस्कुल नजिक भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट आएका युवकले झुक्याई रकम लुटेर फरार भएका थिए।
अनुसन्धान तथा खोजतलासको क्रममा वारदातमा प्रयोग भएको मोटरसाइकल र सिसिटिभी फुटेजको आधारमा युवकलाई पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।