२०८१ पुष २७ , शनिवार

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा

beldhunga

 

सुनाखरी न्युज /  काठमाडौं ।

बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती हिमालले धेरैलाई आकर्षित गरिरहेको छ । बाह्रै महिना बेलुङ्गामा पर्यटक आए पनि यस याममा अझ बढी आउने अपेक्षा गरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा रहेको यस क्षेत्रमा मोटरबाटो तथा पदमार्गमार्फत सहजै पुग्न सकिने हुँदा आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ ।

 

एक दशक अगाडिसम्म सुनसान रहेको बेलढुङ्गा अहिले चर्चित बन्दै गएको छ । हरेक वर्ष हजारौँ पर्यटक पुग्ने यस ठाउँमा काठेखोला गाउँपालिकाले पनि पर्यटन पूर्वाधारका लागि बर्सेनि बजेट बिनियोजन गर्दै आएको छ । पर्यटन पूर्वाधार निर्माणपछि पर्यटक बढ्ने क्रम जारी छ । समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गामा दसैँ र तिहार बीचमा बढी पर्यटक आउने गरेको पाइन्छ । विद्यार्थी, प्राध्यापक तथा अन्य सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी बढी आउने गरेको स्थानीयको भनाइ छ ।

 

मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरधाम र बागलुङको कालिका मन्दिर, पञ्चकोट तथा शालिग्राम सङ्ग्रहालय नजिकै रहेको हुँदा पर्यटक दैनिक बेलढुङ्गा पुग्ने गरेका छन । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँमा ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ प¥यो । हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरुले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । अहिले पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ । रासस