२०८१ मंसिर ११ , मंगलबार

विश्वकपमा पुग्ने अवसरका लागि नेपालले आज युएईसँग बदला लिनु पर्ने दवाव

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले विश्वकप छनोटको महत्वपूर्ण खेलमा युएईसँग खेल्दैछ। आइसिसी विश्वकप २०२४ को एसिया छनोटको सेमिफाइनलमा शुक्रबार नेपालले युएईसँग मुलपानीमा प्रतिस्पर्धा गर्दैछ। यो खेलमा जित हात पारे नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का गर्नेछ।

पछिल्लो पटक नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो। त्यसयता भएका चार छनोटमा नेपाल असफल भएको थियो। पाँचौ प्रयासमा टी(२० विश्वकपमा फर्कनका लागि नेपालले शुक्रबार युएईसँग बदला लिने लक्ष्यमा छ। अघिल्लो विश्वकप छनोटमा युएईसँग सेमिफाइनलमा पराजित भएको नेपाल यसपटक घरेलु मैदान र समर्थकको साथमा छ।

नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।

अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।

मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो। कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो। फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो।

त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको सो खेलमा जित हात पारे विश्वकपमा पुग्ने अवस्था थियो। तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो।

त्यसअघि नेपाल र युएईबीच ओमानमै भएको टी–२० सिरिजमा नेपाल २५ रनले पराजित भएको थियो।

सन् २०१९ मा नेपाल र युएईबीच भएको टी–२० सिरिजमा नेपालले तीन मध्ये दुई खेलमा जित निकालेको थियो। सो सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो। तर दोस्रो र तेस्रो खेल जित्दै नेपालले सिरिज २–१ ले जितेको थियो।

सन् २०२२ को अक्टोबर(नोभेम्बरमा अस्ट्रेलियामा भएको टी-२० विश्वकपका लागि फेब्रुअरी २०२२ मा ओमानमा विश्वकप छनोट समूह ‘ए’ को प्रतिस्पर्धा भएको थियो।

सो छनोटको समूहमा नेपालले आयोजक ओमान, क्यानडा र फिलिपिन्सलाई पराजित गरेको थियो। समूह विजेता बनेर सेमिफाइनल पुगेको नेपालका लागि विश्वकपमा पुग्ने सुनौलो अवसर थियो।

सेमिफाइनल जिते विश्वकपमा स्थान पक्का हुने खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरेको थियो।

ओमानको अलअमरेतमा भएको खेलमा पहिले ब्याटिङ गरेको युएईले १७५ रन जोडेको थियो। युएईका लागि मोहमद वासीमाले ७० रन जोडेका थिए।

जवाफी ब्याटिङ गरेको नेपाल १८।४ ओभरमा १०७ रनमै अलआउट भयो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी ३८ रन मात्र जोड्न सकेका थिए। बलिङमा युएईका अहमेद राजाले ५ विकेट लिएपछि नेपाल ६८ रनले पराजित हुँदा ८ वर्षपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो।