सुनाखरी न्युज/ जाजरकोट ।
सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।
केही ठाउँमा पुल भासिंएको र केही ठाउँमा सुख्दा पहिरो गएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताए ।
उनका अनुसार जाजरकोट-डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ । पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ ।
रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो ।
रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् । सडक खोलेर उद्धारको काम भइरहेको छ ।
शुक्रबार राति गएको भूकम्पले हालसम्मको विवरण अनुसार जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा धेरै क्षति भएको छ ।
नलगाडकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ ।