२०८१ पुष १३ , शनिवार

इन्जिनियरको किबी खेती

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पेसाले जलविद्युतका इन्जिनियर हुनुहुन्छ बागलुङको बिहुँका खिमानन्द कँडेल । उहाँले कोरोनाकालमा गाउँ फर्केर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो । चितवन र काठमाडौँको बजारमा पनि किबी पुगेको छ ।

प्रतिकेजी रु ३०० देखि रु ५००मा किबी बिक्री गर्नुभएका कँडेलले पहिलो वर्ष नै किबीबाट रु एक लाख भित्र्याउनुभयो ।
गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७ सालमा १२ रोपनी जग्गामा दुई सय २५ किबीका बिरुवा लगाउनुभएका उहाँले पहिलोपटक किबीलाई बजारमा पठाएको बताउनुभयो । बागलुङको काठेखोला गाउँपालिका–५ थामडाँडा निवासी कँडेलले आफ्नो पुख्र्याैली जग्गामा किबी खेती गर्नुभएको हो । सुरुमा लगानी र मेहनत दुवै लागे पनि निरन्तर आम्दानी गर्न सकिने किबी खेती लकडाउनमा समय कटाउनका लागि लगाइए पनि अहिले व्यावसायिक बनेको उहाँको भनाइ थियो ।

लकडाउनमा काठमाडौँस्थित इन्जिनियरिङ कन्सल्टेन्सीमा काम नभएपछि लामो समय बागलुङको बिहुँ बस्नुभएका कँडेलले लकडाउनको समयलाई भरपुर सदुपयोग गरेको जानकारी दिनुभयो ।“सानैदेखि राजनीतिमा समेत सक्रिय थिएँ, पेसाका कारण काठमाडौँमा केन्द्रित थिए तर २०७७ सालमा लामो समय नेपालमा लकडाउन भएकाले कोरोना छल्न गाउँ आएको थिए”, इन्जिनियर कँडेलले भन्नुभयो, “बजारमा किबीको भाउ रु छ सय केजी थियो, खेत र कोदोको भन्दा तेब्बर आम्दानी दिन सक्दो रहेछ भनेर एक महिना लगाएर खाडल खने, थाक्राको व्यवस्थापन गरे र किबी लगाएँ ।”

कोरोना महामारी सामान्य भएपछि काठमाडाँै गएँ तर किबीका बिरुवा हुर्कंदै गए । बीच–बीचमा किबीको स्याहारसुसार गर्न गाउँ आए पनि भाइ र बुबाले सहयोगसमेत सहयोग गरेको उहाँले बताउनुभयो ।

दुई सय २५ किबीका बिरुवामध्ये एक सय बिरुवामा किबी फल्न थालेको र आगामी वर्षदेखि वार्षिक रु तीन लाखसम्मको किबी बिक्री गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।

उहाँले तेब्बर आम्दानी दिने र कम मेहनत गर्ने भएपछि कोदो र धान खेती छोडेर किबी खेती लगाइएको बताउनुभयो । “कोदो र धान खेतीमा कति दुःख छ, मेहनत अनुसारको आम्दानी हुँदैन, खान पुग्दैन,” कँडेलले भन्नुभयो, “दुई सयप्रति केजीमै बिक्री भए पनि कोदो र धान खेतीभन्दा तेब्बर आम्दानी हुन्छ, कोदो र धानलाई जस्तो धेरै मेहनतसमेत गर्न पर्दैन ।”

किबीमा एकपटक लगानी गरेपछि वर्षौंसम्म मलजल मात्रै गरे पुग्ने भएकाले यहाँका अन्य किसानसमेत किबी खेतीतर्फ आकर्षित भएका हुन् ।

किबी खेतीका लागि किसानलाई सहज बजारीकरण गर्न भने कठिन रहेको उहाँको भनाइ थियो । विसं २०४६ सालदेखि नेकपा एमालेको विभिन्न पदमा रही काम गर्दै आउनुभएका कँडेल २०७९ साल मङ्सिरमा सम्पन्न सङ्घीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं १ बाट निर्वाचित चित्रबहादुर केसीसँग प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले दस हजार मतसमेत प्राप्त गर्नुभएको थियो । कँडेलले राजनीतिमा लाग्न पनि आफ्नो आर्थिक स्रोत चाहिने भएकाले किबी खेती गरेको बताउनुभयो । रासस