२०८१ माघ १ , मंगलबार

४ दिन युद्ध रोक्न इजरायल सहमत, पहिलो चरणमा हमासले ५० जना बन्धक छाड्ने

Israel

सुनाखरी न्युज/ काठमाडौं ।
हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई इजरायली मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल बन्धक छुट्ने समयसम्मका लागि युद्ध रोक्न तयार भएको हो । इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्नेछन् ।

हमासले थप बन्धक छाड्दै गएमा थप केही दिन युद्धविराम पनि लम्बिने इजरायल सरकारले जनाएको छ । इजरायली सरकारको वक्तव्यमा भनिएको छ, ‘थप १० जना बन्धक छाडिएमा थप एक दिन युद्ध रोकिनेछ ।’

 

इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो ।

सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ । अमेरिकी अधिकारीहरूका अनुसार इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने छ ।

हमासले पनि टेलिग्राममा बयान जारी गर्दै ‘मानवीय आधारमा युद्धविरामका लागि सहमति’ भएको जनाएको छ । हमासले इजिप्ट र कतारलाई मध्यस्थताका लागि धन्यवादसमेत दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सबै जना बन्धक सुरक्षित रूपमा घर फर्किएपछि पुन: हमासविरुद्धको कारबाही सुरु हुने बताएका छन् ।

हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ । जसमा नेपालका विद्यार्थी विपिन जोशीसमेत रहेका छन् ।

गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।