२०८१ कार्तिक १६ , शुक्रवार

कास्कीमा आलुखेती : निर्वाहमुखीबाट व्यवसायिकतातर्फ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
झण्डै साढे तीन दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रुप लिँदै गएको छ । २०४५/४६ सालतिर मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलु र कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउबाट कास्कीको हेम्जामा खेती सुरु गरिएकामा पछिल्ला वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको हो ।

सुरुमा हेम्जामा व्यवसायिक आलुखेती थालिएकामा पछिल्लो दशक महेन्द्रगुफा, अर्मला, कुडहर हुँदै लेखनाथ क्षेत्रका गगनगौँडा, मालमूल, बेलबुटे, राजाचौतारा, बागमारालगायत स्थानमा विस्तार भएको हो । पोखरा महानगरपालिका–३२ को तल्लो गगनगाँैडा, बेलबुटे, मालमूलका साथै यी स्थानसँग सिमा जोडिएको तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसीलगायत स्थानमा आलु खेतीतर्फ आकर्षण बढ्दै गएको किसान बताउँछन् ।

स्थानीयवासीका अनुसार २०४५/४६ सालदेखि हेम्जामा केही मात्रामा आलुखेती विस्तार भई २०५४÷५५ सालयता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले बाह्य अनुसन्धान स्थल स्थापना गरेपछि यो ठाउँ आलुखेतीका लागि प्रसिद्ध बन्दै गएको हो । हेम्जामा आलुखेतीको बढ्दो विस्तारसँगै यसको विशिष्टिकृत पहिचानमा सहयोग पु¥याउने लक्ष्यका साथ एक दशकयता उक्त स्थानमा बर्सेनी आलु महोत्सवसमेत गर्दै आइएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्दै आइएको महोत्सव यहाँको विशिष्ट पहिचान बनेको छ ।

विसं २०६६ फागुनमा पहिलो पटक एक दिवसीय ‘प्रथम आलु महोत्सव’ गरिएयता लगातार महोत्सव गरिँदै आइएको हेम्जा हाइटेकका सञ्चालक रामचन्द्र त्रिपाठीले जानकारी दिनुभयो । आलु खेतीको विस्तार हुँदै जाँदा नार्कअन्तर्गत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले यस गाउँलाई औपचारिक रुपमा नै आलु गाउँका रुपमा परिचित गराएको थियो । उहाँका अनुसार पछिल्लो समयमा यहाँका अधिकांश किसान आलुखेतीतर्फ आकर्षित बनेका छन् ।

आलुमा पहिचान नै बनाएको हेम्जामा खानेसँगै बीउ आलुको लागि पनि किसान आकर्षित बन्दै गएका त्रिपाठीले बताउनुभयो । हेम्जा हाइटेकमार्फत बीउ उत्पादन थालिएको बताउँदै उहाँले अघिल्लो वर्ष पाँच हजार किलो बीउ उत्पादन गरिएको जानकारी दिनभयो । यस वर्ष १० हजार किलो बीउ उत्पादन गर्ने गरी करिब १६ रोेपनी क्षेत्रफलमा आलु लगाइएको उहाँको भनाइ थियो ।

उत्पादित बीउ महानगरपालिकाले जिम्मा लिएर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । पछिल्ला समयमा लेखनाथ क्षेत्रमा आलु खेतीतर्फ किसान आकर्षित बन्दै गएको ढलेपिपल ताजा तरकारी किसान समूह पोखरा–२६ का अध्यक्ष धर्मदत्त पौडेलले बताउनुभयो । समूहमार्फत पाँच वर्षयता आलुको बीउ उत्पादन गरिरहेको भन्दै उहाँले अघिल्लो वर्ष १३ हजार किलो बीउ उत्पादन गरिएको जानकारी दिनुभयो ।

“समूहमा ३२ किसान आवद्ध भए पनि आलुको बीउ उत्पादनमा छ जना लागेका छौँ”, पौडेलले भन्नुभयो, “हाल एमएस ४२ जातको आलु लगाइएको छ । यसवर्ष थप ३० रोपनी क्षेत्रफलमा प्रशोधनयोग्य जनकदेव जातको आलुको खेती पनि थालेका छौंँ ।”

समूहगत रुपमा महेन्द्र गुफा किसान समूहले पनि आलुको बीउ उत्पादन गरिरहेको छ । समूहले पाँच रोपनी क्षेत्रफलमा आलुखेती गरेकामा गतवर्ष दुई हजार एक सय किलो बीउ उत्पादन गरेको समूहका पूर्व अध्यक्ष निर्मला बस्नेतले बताउनुभयो । उहाँका अनुसार गतवर्ष बीउ बिक्रीबाट मात्रै समूहले रू एक लाख २७ हजार आम्दानी गरेको थियो ।

व्यावसायिक आलुखेतीमा सर्वसाधारणको आकर्षण बढेसँगै पोखरा महानगरले यसको व्यावसायिक खेतीमा जोड दिँदै आएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा एमएस ४२, कुफ्रज्योति, खुमललक्ष्मी, जनकदेव, खुमल सेतो र डेजिरे जातका आलु लगाउने गरिएको छ । पछिल्ला वर्षमा एमएस ४२ जातको आलु अत्याधिक लगाउन थालिएको उहाँको भनँइ थियो ।

कास्कीका हेम्जालगायत स्थानमा आलुको उत्पादकत्वप्रति हेक्टर १८ देखि २० टनसम्म हुने गरेको कडरियाले जानकारी दिनुभयो । उहाँले हेम्जामा लगभग चार सयदेखि चार सय २५ हेक्टर क्षेत्रफलमा खेती गरिएको भन्दै आलु उत्पादनबाट मात्रै वार्षिक रू २० देखि २१ करोडसम्मको कारोबार हुने गरेको जानकारी दिनुभयो ।

कृषि महाशाखा प्रमुख कडरियाका अनुसार नेपालमा वार्षिक एक लाख ९५ हजार दुई सय ६८ हेक्टर क्षेत्रफलमा लगाइएको आलुको उत्पादन २७ लाख ३० हजार दुई सय ९४ मेट्रिक टन हुने गरेको छ । उहाँका अनुसार प्रतिहेक्टर उत्पादकत्व १२.४ मेट्रिक टन रहेको छ ।

पोखरा महानगरले आलु खेती विस्तारमा जोड दिँदै बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कडरियाले जानकारी दिनुभयो । आलुको बीउ प्रतिकिलो रू ७० कायम गरी महानगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको उहाँले बताउनुुभयो । रासस